Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाजपाका राष्ट्रिय अध्य़क्ष जेपी नड्डासित भेटे सिक्किम भाजपा टोलीले


गान्तोक, 22 जनवरी। भारतीय जनता पार्टी, सिक्किम प्रदेश एकाईको प्रतिनिधि टोलीले नव निर्वाचित भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डासित नयाँ दिल्लीस्थित उनको कार्यालयमा भेटघाट गरेको छ। गत 20 जनवरीको दिन राष्ट्रिय अध्यक्षको पदमा निर्विरोध निर्वाचित भएका जेपी नड्डालाई भाजपा सिक्किमका अध्यक्ष डीबी चौहान, महासचिव एसबी कार्की अनि कोषाध्यक्ष जीडी अग्रवालले भाजपा सिक्किम अनि सिक्किमे जनताको तर्फबाट बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना दिएका छन्।
भाजपा सिक्किम महासचिव एसबी कार्कीले एक प्रेस बयान जारी गरेर भनेका छन्,भेटघाटको क्रममा भाजपा सिक्किम अध्यक्ष डीबी चौहानले राष्ट्रिय अध्यक्षसमक्ष राज्यमा भइरहेका विभिन्न राजनीतिक गतिविधिहरू अनि पार्टीको सांगठनिक कार्यक्रमहरूबारे जानकारी दिएका छन्। यसै गरी नयाँ अध्यक्षको नेतृत्वमा सिक्किममा पनि भाजपाको अझै धेरै विस्तार भएर जाने अनि सिक्किमे जनता भाजपाको राष्ट्रवादी सोच र विचारधारामा जोड़िने कुरामा विश्वस्त रहेको अध्यक्ष नड्डासमक्ष विश्वास व्यक्त गरियो। भाजपा टोलीले राष्ट्रिय अध्यक्षसमक्ष सांगठनिक कार्यक्रम लिएर सिक्किम भ्रमणमा आउने पनि निम्तो दिएको छ।
यसैबीच, भारतीय जनता पार्टीमा राष्ट्रिय अध्यक्षको चुनाउ सँगसँगै सांगठनिक चुनाउ कार्यक्रमको समापन भएको छ। भाजपा संविधान अन्तर्गत राष्ट्रिय अध्यक्षको चुनाउ अघि 50 प्रतिशतभन्दा अधिक राज्यहरूमा प्रदेश अध्यक्षको चुनाउ भइसक्नुपर्ने हुन्छ। यसै अनुरूप पार्टीले यस अघि नै 21 वटा राज्यहरूमा प्रदेश अध्यक्षहरू निर्वाचित गरिसकेको छ। अब नवनिर्वाचित राष्ट्रिय अध्यक्षद्वारा आगामी दिनमा सिक्किमलगायत अन्य 12 वटा प्रदेशहरूमा अध्यक्षहरू मनोनित गरिनेछ ।
उनले बयानमा भनेका छन् , भारतीय जनता पार्टीले सदैव पार्टीमा आन्तरिक प्रजातन्त्रलाई व्यवहारिकताका साथ पालना गर्दै आएको छ। जहाँ देशमा अन्य अधिकांश राजनैतिक दलहरू परिवारवादले ग्रस्त रहेका छन् भने भारतीय जनता पार्टी मात्र एउटा यस्तो राजनैतिक दल हो जसमा एकजना सामान्य कार्यकर्ताले पनि भविष्यमा गएर राष्ट्रिय अध्यक्ष, प्रधानमन्त्री, प्रदेश अध्यक्ष जस्ता पदसम्म पुग्ने सपना देख्न पाउँछ। उदाहरणको रूपमा नवनिर्वाचित राष्ट्रिय अध्यक्ष श्री जेपी नड्डालाई नै लिन सकिन्छ जसले विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गरेर जय प्रकाश नारायणद्वारा नेतृत्व गरिएको आन्दोलनसँगै आफ्नो राजनीतिक जीवन शुरू गरेका थिए। वर्ष 1989 मा उनी अखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव बनेका थिए भने वर्ष 1991 अनि 1993 मा भारतीय जनता युवा मोर्चा (बीजेवाईएम) का राष्ट्रिय अध्यक्ष निर्वाचित भएका थिए। वर्ष 1993 मा हिमाचल विधानसभा चुनाउबाट चुनावी राजनीतिमा प्रवेश गरेर विजयी बनेका जेपी नड्डा त्यस समय हिमाचल सदनमा नेता विपक्ष रहेका थिए भने 1998 मा पुनः निर्वाचित भएपछि हिमाचल सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी निर्वहन गरेका थिए। यता केन्द्रिय राजनीतिमा 2010 मा राष्ट्रिय महासचिवको जिम्मेवारी ग्रहण गरेका नड्डालाई 2012 मा भाजपा संसदीय बोर्डको महासचिवको जिम्मेवारी दिइयो। नरेन्द्र मोदीको पहिलो सरकारमा उनी केन्द्रिय स्वास्थ्य एवं परिवार कल्याण मन्त्री बनेका थिए। जून, 2019 मा राष्ट्रिय कार्यकारी अध्यक्षको पदभार ग्रहण गरेपछि हालै उनलाई राष्ट्रिय अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ। यसरी छात्र राजनीतिबाट शुरू गरेर विश्वकै सबैभन्दा वृहत राजनैतिक दल अनि भारतको सत्तारूढ़ पार्टीको अध्यक्ष पदसम्म पुग्ने सपना केवल भाजपा कार्यकर्ताहरूले मात्र देख्न सक्छन्। भारतीय जनता पार्टीभित्रको गौरवमय प्रजातात्रिक प्रणालीमाथि भाजपा सिक्किम गर्व गर्दछ अनि सबै कार्यकर्ताहरूलाई सत्य निष्ठासित पार्टीको सिद्धान्त अनि विचारधारालाई लिएर अघि बढ्ने आह्वान गर्दछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!