Loading... आजः शनिबार , श्रावण १२, २०८१

भाजपाको तुमिन लिङ्गी समष्टि कार्यालय उद्घाटन


गान्तोक, 04 सेप्टेम्बर।भारतीय जनता पार्टी सिक्किम प्रदेशको तुमिन-लिङ्गी समष्टिस्तरीय कार्यालय स्थानीय पातुक-कोकलेमा आज पार्टी प्रदेश अध्यक्ष डीबी चौहानको बाहुलीबाट उद्घाटन गरियो। उद्घाटन समारोहमा प्रदेश उपाध्यक्ष तथा विधायक वाईटी लेप्चा, पूर्व जिल्ला अध्यक्ष भानु दाहाल, महासचिव साङ्गे पल्जर, मण्डल अध्यक्ष पूर्ण कुमार न्यौपाने अनि प्रवक्ता नवीन भट्टराईलगायत विभिन्न स्तरका कार्यकर्ताहरू अनि स्थानीयवासीको उपस्थिति रहेको थियो।
अतिथि स्वागत अनि द्वीप प्रज्ज्वलनसितै शुरू भएको कार्यक्रमको शुरूमा अध्यक्ष श्री डीबी चौहानको बाहुलीबाट रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरियो। उद्घाटनपछि उपस्थित पदाधिकारीगण एवं कार्यकर्ताहरूबीच परिचयात्मक सत्र सम्पन्न भयो जसमा नवनियुक्त विभिन्न स्तरका पदाधिकारीहरूलाई कार्यकर्ता अनि स्थानीयवासीमाझ परिचित गराइयो। त्यसपछि मण्डल अध्यक्ष पीके न्यौपानेले समष्टिमा भाजपाको सांगठनिक गतिविधि अनि आइपर्ने समस्याहरूबारे आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष चौहानले भाजपा अहिले राज्यमा विभिन्न स्तरमा सांगठनिक गतिविधिलाई तीव्र रूपमा अघि बढ़ाइरहेको बताउँदै सबै स्तरमा पदाधिकारीहरू नियुक्ति भइरहेको अवगत गराए। सेवा नै संगठनको मूलमंत्रमा चल्ने भारतीय जनता पार्टी आज केन्द्रमा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार चलाइरहेको अनि सिक्किममा पनि एसकेएम पार्टीसित मिलेर सिक्किमे जनताको सेवा पुऱ्याइरहेको बताए। उनले आम जनताले भोगेका समस्याहरूबारे पार्टी कार्यकर्ताहरूले संज्ञानमा लिएर समाधानको निम्ति पहल गर्नुपर्ने आह्वान गर्दै जनताको समस्याहरू समाधान गर्न भाजपा सदैव अघि आउने भरोसा दिलाए।
सम्बोधनको क्रममा अध्यक्ष चौहानले मण्डल स्तरबाट राखिएका कतिपय समस्या तथा जिज्ञासाहरूमाथि पनि चर्चा-परिचर्चा गर्दै सांगठनिक समस्याहरूलाई क्रमशः समाधान गर्दै लैजाने भरोसा दिलाए। कार्यक्रमलाई पार्टी उपाध्यक्ष तथा गान्तोक क्षेत्रका विधायक वाईटी लेप्चा अनि पूर्व जिल्ला अध्यक्ष भानुभक्त दाहालले पनि सम्बोधन गरेका थिए।
कार्यक्रमको समापनपछि पार्टी अध्यक्षको एउटा टोलीद्वारा हालै डिक्चु खोलाले बगाएर आफ्ना परिवारका तीनजना सदस्य गुमाउने परिवारसित भेट गरेर दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गरियो भनि भाजपा प्रवक्ता नवीन भट्टराईले प्रेस बयानमा उल्लेख गरेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!