भाजपाको पश्चिम जिल्ला समितिको सभा सम्पन्न
गान्तोक, 02 मार्च । भारतीय जनता पार्टी, पश्चिम जिल्ला समितिको महत्वपूर्ण सभा आज गेजिंगस्थित पार्टी कार्यालयमा सम्पन्न भयो। पार्टीका वरिष्ठ नेता एसबी कार्कीको अध्यक्षतामा सम्पन्न सभामा पश्चिम जिल्ला अध्यक्ष दिगम सुब्बा, कार्यकारिणी समितिका सदस्य तथा जिल्लाका आठैवटा निर्वाचन क्षेत्रका प्रभारी तथा अध्यक्षहरूको उपस्थिति रहेको थियो। सभामा विशेष गरी पश्चिम जिल्लामा विभिन्न केन्द्रिय योजनाहरू लागू गरेर आम मानिसहरूमाझ यसको लाभ पुऱ्याउने विषय व्यापक छलफल गरियो।
सभामा विशेष गरी पश्चिम जिल्लामा सांगठनिक विस्तार सम्बन्धी व्यापक चर्चा भएको थियो। पार्टीले अहिले मण्डल (निर्वाचन क्षेत्र) स्तरीय समितिहरू गठन गरिसकेको छ भने अब बुथ स्तरमा समितिहरू गठन गरेर सांगठनिक गतिविधिलाई तीव्रता दिइने निर्णय गरेको छ। सांगठनिक विस्तारसँगै पार्टीले विभिन्न केन्द्रिय योजनाहरूबारे जागरूकता फैलाउने अनि आम नागरिकहरूलाई विविध लाभ पुऱ्याउने दिशामा पनि काम गर्ने आजको सभाले निर्णय गरेको छ।
आजको सभाले गेजिङ बर्मेक मण्डल अध्यक्ष हरि चापागाईंलाई जिल्लास्तरीय समितिको सदस्य नियुक्त गरियो भने कर्मा शेर्पालाई मण्डल अध्यक्षको पदभार सुम्पिइएको छ। सोही प्रकारले मानेबुङ-देन्ताम निवासी चन्द्रबहादुर दर्जीलाई पश्चिम जिल्ला किसान मोर्चा अध्यक्षको पदभार सुम्पिइएको छ भने दरामदिन निवासी दिलीप लिम्बूलाई श्रोतवक्ताको पदमा नियुक्त गरिएको छ।
अर्कोतिर, सिक्किम राज्यमा विभिन्न केन्द्रिय योजनाहरू लागू गरेर आम जनतामाझ यसको लाभ पुऱ्याउने उद्देश्यले भारतीय जनता पार्टी सिक्किमका युवा नेता सुदीप प्रधानको समन्वयतामा आगामी 6 मार्चदेखि राज्यव्यापी जागरूकता अभियानको थालनी गरिने भएको छ। जागरूकता अभियान अवधि पार्टी प्रदेश अध्यक्ष श्री डीबी चौहानलगायत पार्टी पदाधिकारीहरूको उपस्थितिमा, राज्य सरकार तथा विभागीय प्रतिनिधिहरू, विभिन्न ब्यांक सम्बन्धित निकायका पदाधिकारीहरूलाई आमन्त्रित गरेर केन्द्रिय योजनाहरूबाट आम मानिसहरूलाई अधिक भन्दा अधिक लाभ पुऱ्याउन हेतु कार्य गरिनेछ।