भाजपाले एसकेएम सरकारसित मिलेर काम गरिरहेको छः डीबी चौहान
गान्तोक, 8 सितम्बर। भारतीय जनता पार्टी, सिक्किम प्रदेश अध्यक्ष डीबी चौहानले आज दक्षिण सिक्किमको नाम्ची, काजीटारमा पार्टीको क्षेत्रीय कार्यालयको उद्घाटन गरेका छन्। यस अवसरमा पार्टीका दक्षिण जिल्ला अध्यक्ष सीएल गुरुङ, महासचिव कुमार राईलगायत जिल्ला कार्यकारिणी सदस्यगण, युवा नेता अर्जुन राईलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो। यस अवसरमा नामथाङ निवासी समाजसेवी तथा भूतपूर्व जिल्ला पञ्चायत उपाध्यक्ष सुश्री देवीमाया बराइलीले भारतीय जनता पार्टीको लोकप्रियता अनि जनमुखी नीति सिद्धान्तलाई अङ्गाल्दै पार्टीमा सामेल भएकी छन्। प्रदेश अध्यक्ष चौहानले पार्टीको झण्डा प्रदान गरेर उनलाई स्वागत जनाएका थिए।
समारोहलाई सम्बोधन गर्दै पार्टी प्रदेश अध्यक्ष डीबी चौहानले अहिले भारतीय जनता पार्टी सिक्किमको दोस्रो शक्तिशाली दल बन्न पुगेको अवगत गराउँदै यसलाई अझ शक्तिशाली बनाउन सबै स्तरका पदाधिकारी तथा कार्यकर्ताहरूले समुचित योगदान दिनुपर्ने बताए। भाजपा सदैव सबैको साथ, सबैको विकासको मूलमंत्रमा चल्ने पार्टी रहेको कारण सिक्किमे जनताको हक-हित अनि राज्यको विकासको निम्ति एसकेएम सरकारसित मिलेर काम गरिरहेको उनले बताए।
पार्टीको आगामी दिनको कार्यक्रमहरूबारे बोल्दै अध्यक्ष चौहानले देशका प्रधानमन्त्री नेरन्द्र मोदीको जन्मदिवसको अवसरमा भाजपाले प्रत्येक वर्ष सेवा सप्ताहको रूपमा पालन गर्ने गरेको अवगत गराउँदै यसै अन्तर्गत यस वर्ष पनि आगामी 14 देखि 20 सेप्टेम्बरसम्म प्रदेश भाजपाले सेवा सप्ताह पालन गर्ने बताए। यस अवधि पार्टी केन्द्रीय समितिद्वारा निर्देशित विभिन्न सेवा कार्यहरू विरामीहरूको सेवा, रक्तदान शिविर, केन्द्रिय योजनाहरूबारे जागरूकता कार्यक्रम, स्वच्छता अभियानलगायतका कार्यक्रमहरू समावेश गरिने उनले बताए। अध्यक्ष चौहानले यस सेवा सप्ताहलाई सफल बनाउन सबै स्तरका पदाधिकारीगण एवं कार्यकर्ताहरूलाई आह्वान गरेको जानकारी भाजपाले जारी गरेको प्रेस बयानमा उल्लेख छ।
तपाइँकाे प्रतिक्रिया
