गान्तोक, 12 जुलाई। 206६औं आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको उपलक्ष्यमा पूर्व मुख्यमन्त्री एवं एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले सिक्किमे जनतालाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन् – “आदिकवि भानुभक्त आचार्यलाई नेपाली जातीय कवि भनेर मूल रूपमा मानिन्छ। किनभने, कवि भानुभक्त आचार्यले नै बाल्मिकी रामायणको अनुवाद गरेर नेपाली जातिलाई भाषिक रूपमा एक सूत्रमा बाँध्ने काम गरेका छन्। उनको योगदान साहित्यकारहरूमा सबैभन्दा ठूलो योगदान छ। कवि भानुभक्त आचार्यकै योगदानले भाषिक रूपमा नेपाली जनता एक भएका हुन्। यसका साथै उनको योगदान समाजको विविधतालाई स्वीकार गर्न र संस्कृतिको विकास गर्नका निम्ति आज पनि प्रेरणाको मूल स्रोत बनेको छ।”
“कवि भानुभक्तको जन्म जयन्तीलाई अबउसो जातीय एकता, सद्भावना र भावनात्मक एकीकरण उत्सवका रूपमा मनाउनुपर्छ। भानुजयन्तीलाई एकीकरण दिवसको रूपमा अपनाउनु पर्ने आवश्यक भएकोले यसमा बुद्धिजीवीवर्ग, भाषा अनुरागी, बौद्धिक समाजले सोच्ने र निर्णय लिने कुरा हो। यदि भानुभक्तको जन्मलाई यसरी हाम्रो समाजको समृद्धि, हित र उद्देश्यसँग जोड़ेर मनाउने अर्थमा शुरू गरियो भने कवि भानुभक्तको योगदानलाई समयसापेक्ष र प्रासङ्गिक बनाउनसकिन्छ। यदि यसो गर्नसकिएमा आदि कविप्रति हाम्रो साँचो श्रद्धाञ्जलि हुनेछ।”अध्यक्ष चामलिङले भनेका छन्।
एसडीएफ पार्टीका महासचिव (प्रचार प्रसार) कविता सुब्बाले जारी गरेको प्रेस बयानमा पूर्व मुख्यमन्त्री चामलिङले भनेका छन्, “नेपालीभाषीले आजको दिन कवि भानुभक्ति आचार्यको जीवन र योगदानबाट चिन्तन-मनन गरेर अभिप्रेरित हुने दिन पनि हो। कवि भानुभक्त आचार्य जात-जातिदेखि मुक्त भएका नेपाली जातीय कवि हुन्। नेपालीभाषीहरूलाई जात-जातमा विभाजित नभई एकीकृत पहिचान लिएर बाँच्न सकून् भनेर नै आदिकविले आफ्नो कृति र कर्मबाट सन्देश दिएका छन्। यसै कारणले कवि भानुभक्तलाई जातीय कविको साथसाथै नेपाली जातिका एकताको प्रतीकका रूपमा पनि हामीले सम्मान गर्नुपर्छ।”