भारतमा कतै जान आउन स्थानीय नेताको अनुमति लिनुपर्ने आवश्यकता छैनःडीबी चौहान
विनय तामाङलाई भाजपाको जवाफ
गान्तोक, 30 जनवरी। भारतीय जनता पार्टी सिक्किम एकाईका दुइ कार्यकर्तालाई धम्कि दिने गोर्खा जनमुक्ती मोर्चा-2 का नेता विनय तामाङलाई भाजपा सिक्किमले कडा प्रतिक्रिया व्यक्त गर्दै जवाफ दिएको छ। भाजपा अध्यक्ष डीबी चौहानले एउटा प्रेस बयान जारी गर्दै भनेका छन्, गत वर्ष लोकसभा चुनाउ अनि विधानसभा उप-चुनाउमा भारतीय जनता पार्टी र एनडीए गठबन्धनसँग नराम्रो घतले पराजित भएपछि आफ्नो राजनैतिक अस्तित्व बचाउन भौंतारिरहेका गोर्खा जनमुक्ति मोर्चा-2 का नेता विनय तामाङले 28 जनवरीको दिन एउटा जनसभालाई सम्बोधन गर्दै भाजपा सिक्किमका दुई कार्यकर्ताविरूद्ध जुन किसिमको धम्कीपूर्ण, अप्रजातान्त्रिक अनि भड्काउपूर्ण बयान दिएका छन् त्यसको भारतीय जनता पार्टी सिक्किम एकाई कड़ा शब्दमा भर्त्सना अनि निन्दा गर्दछ। उनले अझ भनेका छन्, पार्टी यो स्पष्ट गर्न दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किम प्रदेश भाजपाले कुनै कार्यकर्ता तथा नेताहरूलाई दार्जीलिङ पठाएको छैन तर कुनै निजी काम लिएर उनीहरू दार्जीलिङ गएको हुनसक्छ, यसबारे पार्टी अनभिज्ञ छ। अनि जहाँसम्म दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको कुरा छ त्यसको निम्ति स्थानीय नेताहरू नै सक्षम छन् अनि उनीहरूले पटक-पटक चुनाउहरूमा आफूलाई साबित पनि गरिसकेका छन्। विनय तामाङले जुन किसिमको अप्रजातान्त्रिक अनि धम्कीपूर्ण भाषाको प्रयोग गरेका छन् त्यसको भाजपा सिक्किम घोर भर्त्सना जनाउँदछ अनि कार्यकर्ताहरूको सुरक्षामा कुनै प्रकारको आँच आएको खण्डमा त्यसको जिम्मेवार विनय तामाङ हुनेछन्।
भारत एउटा प्रजातान्त्रिक राष्ट्र हो अनि यहाँ सबै नागरिकलाई देशको कुनै पनि स्थानमा आउने-जाने स्वतन्त्रता छ त्यसको निम्ति कुनै स्थानीय नेताको अनुमति लिनुपर्ने आवश्यकता छैन। अर्कोतिर, सिक्किम-दार्जीलिङबीच सदियौंदेखि मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ यसकारण कुनै व्यक्तिको सिक्किम-दार्जीलिङ आउने-जाने क्रम एउटा सामान्य विषय हो। यसकारण, विनय तामाङले यसरी भड्काउपूर्ण बयान दिएर सिक्किम-दार्जीलिङबीचको मैत्रीपूर्ण सम्बन्धलाई खल्बल्याउने दुष्प्रयास नगरून् भन्दै उनले चेताउनी दिएका छन्। उऩले भनेका छन्, जहाँसम्म राजनीतिको विषय छ, दार्जीलिङमा भारतीय जनता पार्टीको विस्तारको निम्ति सिक्किमबाट विधायकहरू पठाइरहनुपर्ने कुनै आवश्यकता छैन, त्यहाँको समस्या अनि मुद्दाहरूलाई सम्बोधन गर्न त्यहाँका सांसद तथा स्थानीय नेताहरू नै सक्षम रहेको भाजपा, सिक्किम ठान्दछ। हामी सिक्किममा राजनीति गर्छौं अनि दार्जीलिङको राजनीतिमा हस्तक्षेप गर्ने कुनै अभिप्राय छैन। यसर्थ, विनय तामाङले भाजपा सिक्किममाथि लगाएका तमाम आरोपहरूको पार्टी कड़ा शब्दमा खण्डन गर्दछ। उल्लेखनीय छ गोजमुमो अध्यक्ष विनय तामाङले 28 जनवरीको दिन रम्बी पश्चिम बङ्गालमा एउटा जनसभालाई सम्बोधन गर्दै दार्जीलिङको राजनीतिमा सिक्किमले हस्तक्षेप गरेको अनि सिक्किम भाजपा कार्यकर्ताले चानमारी दार्जीलिङमा बसेर संगठन विस्तारको काम गरिरहेको अनि 30 जनवरी भित्र दार्जीलिङ छोड्ने अन्तिमेथम दिएका थिए।