भारतमा कोरोना त्रासका कारण नेपालीहरू बेरोजगार हुने चिन्ता
भारतमा कोरोना भाइरस (कोभिड–१९) को त्रास बढ्दै जाँदा आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित हुन थालेको छ । कोभिड–१९ का कारण विशेषगरी पर्यटन र उद्योग क्षेत्र नराम्ररी प्रभावित छन् । कोभिड–१९ महामारीको प्रकोप सबैभन्दा बढी चीन र युरोपमा देखिएको त्यसको सबैभन्दा बढी असर भारतको निर्यात व्यापारमा परेको हो ।
विदेशीहरूको प्रवेशमा रोक लगाइएका कारण भारतको पर्यटन क्षेत्र झन् बढी प्रताडित भएको छ । कोभिड–१९ को त्रास र भयका कारण भारतीय पर्यटक पनि घुम्न छाडेका छन् । हवाई क्षेत्रले पनि ठूलो धक्का बेहोरेको छ । व्यापार एवं विकासका लागि संयुक्त राष्ट्र सम्मेलन (अन्कटाड) ले कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित हुने मुलुकहरूमा भारतलाई पनि सूचीकृत गरिसकेको छ ।
पर्यटन क्षेत्रमा मन्दी र उत्पादनशील क्षेत्रमा सुरु भएको गिरावटका कारण अर्थतन्त्रमा ल्याउने संकुचनको प्रत्यक्ष असर यहाँको श्रम बजारमा पनि पर्ने नै छ । त्यसका संकेत देखिन थालेका छन् । यसबाट हजारौंको संख्यामा रहेका नेपाली पनि समस्यामा पर्नेछन् । यकिन तथ्यांक नभए पनि भारतमा काम गर्नेमध्ये ६० प्रतिशतभन्दा बढी होटल, रेस्टुराँ, कलकारखानालगायतमा नेपालीले काम गर्ने गरेको अनुमान छ । सुदूर र मध्यपश्चिम पहाडबाट भारत काम गर्न आउने नेपालीमध्ये प्रायः होटल र रेस्टुराँमा काम गर्छन् । विशेषगरी गोवा, मुम्बई, दिल्ली, जयपुर, सिमला, चण्डीगढलगायत पर्यटकीय सहरमा नेपाली कामदारको उपस्थिति ठूलो छ।
भारतमा वर्षभरि आउने पर्यटकमध्ये १५ प्रतिशतभन्दा बढी यो दुई महिना मात्र भित्रिने गरेका छन् । तर यही समयमा कोभिड–१९ को महामारी विश्वव्यापी बनेकाले भारतको पर्यटन क्षेत्रमा नराम्रो धक्का लाग्न पुगेको छ । भारतको गृह मन्त्रालयका अनुसार गत २० फेब्रुअरीमा ३३ हजार विदेशी पर्यटक भारत आएकोमा १० मार्चमा त्यो घटेर १८ हजारमा झरेको छ ।
भारत सरकारले अप्रिल १५ सम्मका लागि सबै विदेशीहरूको भिसा रद्द गरिसकेको छ । त्यसमाथि नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको महाराष्ट्रमा कोभिड–१९ को प्रकोप अन्य राज्यको तुलनामा बढी छ । त्यहाँ सबैभन्दा बढी ३७ जनामा भाइरस पुष्टि भएको छ ।
मुम्बईमा पनि नेपालीहरूले होटल/रेस्टुराँमा काम गर्ने गरेका छन् । मुम्बईमा मात्र ३२ वटा आउटलेट रहेको चाइना गेट रेस्टुराँमा मात्र हजारभन्दा बढी नेपाली काम गर्छन् । अधिकांश डडेलधुरा, डोटी, कैलाली र कन्चनपुरका रहेको उक्त रेस्टुराँमा क्याप्टेन पदमा कार्यरत टिकापुरका रोहित टमाटाको भनाइ छ। तर चिनियाँलाई लक्ष्य गरी सञ्चालित यो रेस्टुराँ केही सातादेखि प्रायः खाली छ । टमाटाका अनुसार अरू बेला दिनहुँ डेढ सयभन्दा चिनियाँ आउने गरेकोमा अहिले मुस्किलले चारपाँच जना मात्र पाहुना लाग्ने गरेको कान्तिपुर अनलाइनमा खबर छ।