केही समययता नेपाल र नेपाली नेताहरुबिरुद्ध जथाभावी प्रचारबाजी गरिरहेका भारतीय न्यूज च्यानलहरुको प्रसारण नेपालमा बन्द भएको छ। विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)ले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको एमएसओका अध्यक्ष दिनेश सुवेदीले देश सञ्चारलाई जानकारी दिनुभयो।उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रियतामाथि आँच आउने समाचारहरु प्रसारण भएकाले हामीले भ्रामक र अतिरञ्जित खबर फैलाउने भारतीय न्यूज च्यानलहरुको प्रसारण साँझदेखि रोकेका हौँ।’
उहाँले भारतीय च्यानलहरुको प्रसारण बन्द गरिए पनि औपचारिक निर्णय भने भोलि मात्रै गरिने बताउनुभयो।
जीन्यूज, आजतक, एबिपीलगायत समाचार च्यानलहरु बन्द गरिएको देशसंचार अनलाइनले खबर लेखेको छ। बिहीबार साँझदेखि नेपालमा कुनै पनि भारतीय न्युज च्यानलहरु प्रसारण भएका छैनन्।