Loading... आजः शनिबार , श्रावण १२, २०८१

भारत-नेपाल सीमा आवागमन कम गराउन पहल गर्ने निर्णय


कोरोना भाइरस संक्रमण रोकथामका लागि बनेको उच्च स्तरीय समिति बैठकले भारत-नेपाल सीमा आवागमन कम गराउन पहल गर्ने निर्णय गरेको छ। शनिबार अबेर सकिएको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा आवगमन कम गराउन पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो। साथै ‘होम’ क्वारेन्टाइनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न पनि पहल गरिने ज्ञवालीले बताउनुभयो।

बैठकमा अस्पतालहरूमा अनुशासन कायम राख्न सुरक्षा निकाय र स्वास्थ्य मन्त्रालयलाई संयुक्त रूपमा अगाडि बढाइने निर्णय पनि भएको छ।अस्पताल आएका शंकास्पद बिरामीलाई क्वारेन्टाइनमा राख्न यस्तो निर्णय गरेको हो।

‘स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाउँदा अनुशासन पालना नगरेका कुराहरूलाई कडाइ साथ कार्यान्वयनमा ल्याउनुपर्ने भएको छ,’ बैठकपछि अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडाले भन्नुभयो, ‘व्यक्तिहरूलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्ने काममा गम्भीरता अपनाउन जरूरी देखिएको छ।’

Insert your Ads code here

प्रधानमन्त्री केपी ओलीले गरेको सम्बोधनलाई कार्यान्वयन गर्न र कोरोना रोकथामका लागि उच्च सतर्कता अपनाउन आवश्यक निर्देशन समेत दिइएको खतिवडाले बताउनुभयो। सामुदायिक र वित्तीय संस्था अनि स्थानीय र प्रदेश सरकारले बनाएका क्वारेन्टाइन सेन्टर पहिचान गरी एकद्वार प्रणालीबाट अगाडि बढ्ने निर्णय समेत उच्चस्तरीय समितिले गरेको छ।

देशमा पाइने स्वास्थ्य उपकरण किन्न अर्थ मन्त्रालयले बजेट दिने र स्वास्थ्य मन्त्रालयले त्यसको परिचालन गर्ने पनि निर्णय भएको छ।

वैदेशिक सहयोगका लागि अर्थ र परराष्ट्रले समन्वय गर्ने तथा विदेशबाट खरिद गर्नपर्ने स्वास्थ्य सामग्रीका लागि अर्थले बजेट दिने र परराष्ट्रले दूतावासमार्फत् खरिद गर्ने निर्णय भएको मन्त्री खतिवडाले बताउनुभयो।

आपूर्ति व्यवस्था सहज बनाउन वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजकत्वमा समिति बनाइएको छ।

त्यस्तै क्वारेन्टाइन व्यवस्थापन तथा अनुगमनका लागि पर्यटनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा समिति बनाइएको छ भने राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्री घनश्याम भुसालको संयोजकत्वमा समिति बनाइएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!