भाषा शर्मालाई “जसुदा प्रधान स्मृति पुरस्कार”
यो वर्षको जसुदा स्मृति पुरस्कारबाट भाषा शर्मा सम्मानित भएकी छिन्। जसुदा प्रधान स्मृति कोषले “महिला सम्पादक भएका म्यागजिन : निरन्तरतामा चुनौती” विषयको शोधबापत शर्मालाई यस्तो सम्मान प्रदान गरेको हो। हाल नागरिक दैनिकमा पत्रकारिता गर्दै आएकी शर्माले काठमाडौं नयाँबानेश्वरस्थित सेफर्ड कलेजमा पत्रकारिता अध्ययनरतस्नातकोत्तर सो शोध गरेकी थिइन्।
बुधबार राजधानीमा आयोजित कार्यक्रमबीच डा. सुरेशप्रसाद आचार्यले शर्मालाई प्रशंसापत्र र २५ हजार रुपैयाँ नगदसहितको उक्त पुरस्कार हस्तान्तरण गरेका हुन्। पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले भाषा नेपाली पत्रकारिता क्षेत्रमा आवद्ध महिला र महिलाले सञ्चालन गरेको पत्रपत्रिकाको अवस्थाका बारेमा गरेको शोधले यो क्षेत्रको अवस्थाको बारेमा प्रकाश पार्न सफल भएको भन्दै यसले यो क्षेत्रको बारेमा बुझ्न र थप अध्ययन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सम्मान ग्रहण गर्दै शर्माले आफू मोफसलबाट अध्ययनका लागि राजधानी आएको र पत्रकारिता क्षेत्रमै लागिरहेकोले यो क्षेत्रमा आवद्ध महिलाहरुको अवस्था र उनीहरुले सञ्चालन गरेको पत्रपत्रिकाको बारेमा अध्ययन गर्न उत्सुक भएको बताइन्। आफ्नो शोधले पारिवारिक दवाव र विवाहपछिको प्रतिकुल अवस्थाका कारण महिलाहरुले पत्रकारितामा निरन्तरता दिन नसकेको पाइएको भन्दै आफू जसुदा प्रधानको बाटो पछ्याउँदै सँधै पत्रकारितामै रहिरहने लक्ष्य भएको बताइन्।
कार्यक्रमका जसोदा प्रधान स्मृति कोषका अध्यक्ष तथा पिपुल्स रिभ्यु साप्ताहिक प्रधानसम्पादक पुष्पराज प्रधानले पछिल्लो समय पुरस्कार र सम्मानमा देखिएको विकृतिलाई हटाउँदै पत्रकारिता विषयमा शोध गर्नेलाई सहयोगको उद्देश्य अनुरुप यस्तो पुरस्कार वितरण गर्दै आएको बताए।
अँग्रेजी भाषाको पिपुल्स रिभ्यु साप्ताहिकको प्रबन्ध सम्पादक तथा नेपाली भाषाको संरचना साप्ताहिकको प्रधान सम्पादक रहेकी स्व. जसुदा प्रधान ३ दशक पत्रकारितामा आबद्ध थिइन्। २०६९ सालमा उनको निधनपछि उनको सम्झनामा २०७२ सालदेखि काषले यो पुरस्कार प्रदान गर्दै आएको छ। यसका लागि कोषले अक्षय कोषमार्फत् यस्तो पुरस्कारको व्यवस्थापन गर्दै आएको राताेपाटी अनलाइनले लेखेको छ।
तपाइँकाे प्रतिक्रिया
