भूकम्पले ध्वस्त बनाएका २ हजार विद्यालय पुनर्निर्माण हुन बाँकी
लकडाउनका कारण विद्यालय पुनर्निर्माणको काम रोकिन थालेको छ। निर्माण सामग्री र कामदार नहुँदा अधिकांश विद्यालय पुनर्निर्माणको काम रोकिएको विद्यालय पुनर्निर्माण राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।
३१ जिल्लामा एक हजार ४ सय ९२ विद्यालय निर्माणाधिन अवस्थामा थिए। ती मध्ये करिब १० वटा विद्यालय मात्र पुनर्निर्माणको काम भइरहेका आयोजनाका उपनिर्देशक दिलिपशेखर श्रेष्ठले जानकारी दिनुभयो। ‘ठेक्कापट्टामा काम भइरहेका केही विद्यालय भवन मात्रै निर्माणाधिन छन्,’ उहाँले भन्नुभयो, ‘निर्माण सामग्री र कामदारको अभावमा अधिकांश निर्माणको काम ठप्प बनेको छ।’ बजारमा निर्माण सामग्री उपलब्ध नभएका कारण निर्माणको काम अघि बढाउन नसकिएको आयोजनाले जनाएको छ।
बजार ठप्प हुँदा सिमेन्ट, रड लगायत सामग्री र ढुङ्गा, गिटी, बालुवाको अभाव हुने गरेको निर्माण व्यवसायीहरुले बताएका छन्। पुनर्निर्माणको काम नरोक्ने भनिएपनि सामग्री अभाव हुँदा अवरुद्ध हुन पुगेको श्रेष्ठले जनाउनुभयो। कामदार पनि कोरोना भाइरसको त्रासले कार्यस्थल छाडेर घर फर्किने गरेको उहाँले बताउनुभयो। २०७२ बैशाख १२ को भुकम्पले ८ हजार विद्यालयमा पूर्ण रुपमा क्षति पुगेको थियो। ती मध्ये आयोजनाले ७ हजार ६ सय सामुदायिक विद्यालय पुनर्निर्माणको सूचीमा राखेको छ। करिब ४ सय विद्यालय जग्गा अभाव र भुकम्प पछि मर्च भएका कारण सुचीबाट हटाइएको छ। जग्गा नभएका विद्यालयका लागि जग्गा खोजी गर्न प्राधिकरणले स्थानीय सरकार मार्फत पहल गरिरहेको छ। आंशिक क्षति पुगेका ८ हजार विद्यालयको भने मर्मत सकिएको छ।
भूकम्प गएको ५ वर्षमा ५ हजार ५ सय ९८ अर्थात ७४ प्रतिशत विद्यालयको पुनर्निर्माण सकिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणकाअनुसार २० प्रतिशत विद्यालय पुनर्निर्माणको क्रममा थिए। लकडाउनका कारण ती विद्यालयको पुनर्निर्माण कार्य रोकिएको हो। ‘लकडाउन खुले रोकिएको काम तुरुन्तै सुरु गर्न सकिने अवस्थामा छ,’ उपनिर्देशक श्रेष्ठले भन्नुभयो, ‘बैशाख १५ पछि खुल्ला भए निर्माणधिन अधिकांश विद्यालयको काम सम्पन्न हुन्छ।’ ४ सय ६४ विद्यालय अझै पुनर्निर्माण हुन बाँकी नै छ।
भूकम्पले क्षति पुगेको ५ वर्षसम्म विद्यालय भवन निर्माण कार्य जारी रहँदा करिब २ हजार विद्यालयका छात्रछात्रा अझै पनि अस्थायी टहरामा बसेर पढ्न बाध्य छन्। प्राधिकरणले ६ हजार १ सय, निर्माण व्यवसायी मार्फत ठेक्का प्रक्रियाबाट ६ सय ९१ र गैरसरकारी संघसंस्थाबाट ७ सय २४ विद्यालय पुननिर्माण गरिएको हो। ३ वटा प्रक्रियाबाट विद्यालय पुनर्निर्माण गरिएको छ। क्षति पुगेकामध्ये ९० प्रतिशत विद्यालय आयोजना इकाईले व्यवस्थापन समिति मार्फत निर्माण गरिएको छ।
दोस्रो इकाईले ठूला विद्यालयहरु जापनी सहयोग नियोग (जाइका), एसियाली विकास बैंक (एडबी) लगायतको सहयोगमा टेण्डर प्रक्रियाबाट निर्माण गरेको हो भने विभिन्न गैरसरकारी संघसंस्था मार्फत पनि पुननिर्माणको काम भइरहेको छ। भूकम्प अतिप्रभावित १४ जिल्लाका कतिपय विद्यालयमा नमुना पूर्वाधारको विकास समेत भइरहेको छ।
तपाइँकाे प्रतिक्रिया
