Loading... आजः शनिबार , श्रावण १२, २०८१

भैंसेपाटीमा प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूको बैठक


नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यहरूको बैठक बसेको छ।

बिहीबार साँझ सुरु भएको बैठकमा प्रचण्डसहित वरिष्ट नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन्।

कपाभित्रको आन्तरिक विवाद चुलिदै गएको अवस्थामा बसेको यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ। नौ सदस्यीय सचिवालयमा प्रधानमन्‍त्री ओली, उपप्रधानमन्‍त्री इश्‍वर पोखरेल र गृहमन्‍त्री रामबहादुर थापा बादलबाहेक अरु छ जना भैंसीपार्टीमा सहभागी छन्। भैंसीपार्टीमा बैठक बस्दै गरेको अवस्थामा प्रधानमन्‍त्री केपी ओली भने राष्ट्रपति विद्‍या भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। विवादित अध्यादेशका बारेमा परामर्श गर्न ओली शितलनिवास पुगेको बताइएको छ।

Insert your Ads code here

बैठकमा सरकारको भूमिका, सरकारका गलत कदमका कारण पार्टी बद्‌नाम भएकोलगातका आन्तरिक विषयलगायतमा छलफल भइरहेको छ। पार्टीभित्र कुनै छलफल तथा परामर्श नगरीकन गत वैशाख ८ गते प्रधानमन्‍त्री केपी ओलीको विशेष पहलमा दल विभाजनलाई खकुलो पार्ने र प्रतिपक्षको भूमिकालाई संवैधानिक परिषदमा निषेध गर्ने खालको अध्यादेश जारी भएपछि पार्टीभित्रैबाट यसको चर्को विरोध र आलोचना भएको छ।

मधेसवादी पार्टीलाई फुटाउने योजनाअनुसार अध्यादेश जारी भएपछि रातारात समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता घोषणा भएपछि यसले सरकार थप बद्‌नाम भएको आरोप असन्तुष्ट पक्षले लगाएको छ।

पछिल्लो समय सरकारका कदम र कार्यशैलीलाई लिएर पार्टीभित्रै तीव्र असन्तुष्टी पैदा भएको छ। तत्कालीन शेरबहादुर देउवाको सरकार छँदाको सत्ता समिकरणको फोहरी खेललाई समेत बिर्साउने गरी मधेसवादी दलका सांसद र नेतालाई अपहरण शैलीमा राजधानी ल्याएर मधेसवादी दलहरु फुटाउने असफल प्रयास गरेको आरोप ओलीमाथि लागेको छ। पार्टीभित्र विवाद र विरोध हुँदाहुँदै प्रधानमन्‍त्रीको विशेष आग्रहमा मन्‍त्रिपरिषद‍ले पारित गरेको अध्यादेशमा राष्ट्रपतिले केही बेरमै लालमोहर लगाएकी थिइन्।

दुई विवादित अध्यादेश जारी भएपछि राष्ट्रिय राजनीति तरंगित भएको छ भने नेकपाभित्र पनि ठूलै हलचल मच्चिएको छ। दुवै अध्यादेश फिर्ता लिन पार्टीभित्रबाट दबाब दिइएको छ। यसले पार्टीभित्रको आन्तरिक समिकरणलाई नयाँ मोड दिनसक्‍ने विश्लेषण गरिएको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!