Loading... आजः शनिबार , श्रावण १२, २०८१

भोली घटस्थापना, दशै सुरु


 

 

Insert your Ads code here

हिन्दू नेपालीहरुको महान पर्व बडा दशैं भोलीबाट सुरु हुने भएको छ । दशैको पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने गरिन्छ । बडादशैंको पहिलो दिन भोली देखी घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

घटस्थापनाको साइत असोज १० गते बिहान १० बजेर २३ मिनेटमा रहेको छ । भने २०७९ सालको बडा दशैंको साइत असोज १९ गते ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

गाईको हरियो गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जमरा प्राय गरि जौ को मात्र राखिने भएपनि जौ सगै मकै, तिल लाई पनि जमराको रुपमा प्रयोग गर्ने गरिन्छ ।

जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिने परम्परा रहि आएको छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले यसदिनलाई घटस्थापना भन्ने गरिएको हो । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । नवरात्रभर अधिष्ठात्री देवी दुर्गाका नौ रुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

बडादशैँको सातौँ दिन धार्मिक विधिअनुसार फुलपाती भित्राइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । विजयादशमीका दिन बिहान ८ बजेर ४५ मिनेट देखि देवी विसर्जन गरेपछि १० बजेर ३५ मिनेटको शुभ साइत रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!