भ्रष्टाचार विरुद्ध अख्तियारकाे सक्रियता
भूमिसुधार कार्यालय राजविराज सप्तरीमा कार्यरत नायब सुब्बा कृष्णबल्लभ ठाकुरले रु १३ हजार बराबरको घुस लिएको अभियोगमा पक्राउ गरेको छ। जग्गा स्रेस्ता कायम गरिदिने बहानामा उनले घुस माग्दै गरेको अवस्थामा आज पक्राउ गरिएको आयोगले जनाएको छ।
आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार काठमाडौँका मालपोत अधिकृत रघुवंश कँडेल, नायब सुब्बाहरु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनालविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।
उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई सेवाग्राहीसँग रु आठ लाख ५० हजार बराबरको घुस लिएको अभियोग लागेको छ। त्यस्तै विज्ञापन प्रकाशनबापतको रकममा घुस मागेको अभियोगमा हरिपुर नगरपालिका सर्लाहीका लेखा अधिकृत भूपेन्द्रकुमार सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार सिंहले विज्ञापन प्रकाशन तथा प्रसारण गरेबापत सेवाग्राहीसँग रु चार हजारका दरले घुस मागेको पाइएको छ। आयोगले आजै कपिलवस्तुको तितिर्खी गाउँ विकास समितिको जमुवार पुल निर्माण गर्दा गैरकानूनी रुपमा उपभोक्ता समितिलाई दोहोरो सुविधा दिई भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन गाविस सचिव मुहानन्द खनाल र जिल्ला विकास समितिका लेखापाल गोलु अली धुनियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार उनीहरुले रु तीन लाख ९२ हजार २२७ बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ।
यस्तै आयोगले सडक निर्माणमा मापदण्ड विपरीत गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोगमा सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, इन्जिनीयर सुदीप चौधरी र सबइन्जिनीयर रामकान्त चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उनीहरुले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरी निर्माण व्यवसायीलाई रु १४ लाख ९७ लाख ९७२ बराबरको भुक्तानी दिई हिनामिना गरेको पाइएको आयोगले जनाएको छ। यस्तै आयोगले सुन्दर कन्स्ट्रक्शनका प्रोपाइटर राजकुमार यादव, शान्ति निर्माण सेवाका प्रोपाइटर नारायणप्रसाद यादव र भष्मरवि निर्माण सेवामा सञ्चालक श्यामकान्त चौधरीले पनि गैरकानूनी रुपमा रु चार लाख ९९ हजार ६४२ बराबरको भुक्तानी लिएको पाइएको छ।
यस्तै आयोगले विभिन्न तालीम सम्पन्न गरी चेक भुक्तानी लिइसकेपछि सेवाग्राहीसँग रु ८५ हजार घुस लिएको अभियोगमा जोशीपुर गाउँपालिकाको कार्यालयका सूचना अधिकारी सिद्धराज जोशीलाई पक्राउ गरेको छ। आयोगको टोलीले हिजो जोशीलाई स्थानीय सिमरी भन्ने स्थानबाट पक्राउ गरेको हो।
आयोगले हिजै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दिक्तेल खोटाङमा कार्यरत डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठले सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग रु नौ लाख ३४ हजार बराबरको घुस लिएको अभियोगमा पक्राउ गरेको छ। आयोगले श्रेष्ठलाई दिक्तेलको मझ्वागढी नगरपालिका–१ मा रहेको बेस क्याम्पबाट घुससहित पक्राउ गरेको हो।
आयोगले घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीलाई रु ९३ हजार ३०० बराबरको घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ। ठेक्कापट्टाको अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि ओलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आज कार्यालय परिसरबााटै पक्राउ गरिएको हो।