गान्तोक, 7 मार्च। सिक्किममा अहिले विभिन्न विभागमा कार्यरत सरकारी कर्मचारीहरूमा वेतन वितरणको अनियमितता र स्थायीकरणको मागले गर्दा प्रतिकूल प्रभाव परिरहेको छ। यसै क्रममा महात्मा गान्धी राष्ट्रिय ग्रामिण रोजगार सुनिश्चित ऐन (एमजीनरेगा)-अन्तर्गत कार्यरत कर्मचारीहरूले राज्यभरि पेन डाउन हड्ताल शुरु गरेका छन्। विभिन्न खण्डविकास कार्यालयका कर्मचारीहरूले आफ्नो नोकरीको स्थायीकरणको निम्ति माग गर्दै आएको भएपनि अहिलेसम्म राज्य सरकारले विभिन्न अवसरहरूमा चारपल्ट भन्दा धेरै स्थायी गर्ने वचन दिएको भएपनि 2017-देखि अहिलेसम्म नेशनल हेल्थ मिशन अनि एसएसए-का कर्मचारीहरूलाई स्थायीकरण गरिसकेर पनि आफूहरूलाई न्याय नभएको भन्दै हडताल शुरु गरेका हुन्। दक्षिण सिक्किमको नाम्थाङ खण्डविकास कार्यालयबाट छेडिएको पेन डाउन आन्दोलन पश्चिम सिक्किमको योक्सम, पूर्व सिक्किमको पाकिम, मार्ताम, पूर्व सिक्किमको नाण्डोक, उत्तर सिक्किमको जङ्गू खण्ड प्रसाशनिक केन्द्र अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायत एकाइहरूमा पेन डाउन हड्ताल आफ्नो माग पूरा नभएसम्म अनिश्चित कालको निम्ति कर्मचारीहरूले शुरु गरेका छन्। उल्लेखनीय छ, राज्य सरकारलाई दबाउ दिँदै शिक्षक नियुक्तबारे पनि अन्तरवार्ता दिने शिक्षकहरू आन्दोलित अवस्थामा छन् भने तिमी तार्कू चिया बगानका श्रमिकहरू पनि बेतन नपाएको कारण आन्दोलित बनेका छन्।