Loading... आजः शनिबार , श्रावण १२, २०८१

मध्यरातमा जुरेको एकताबाट जन्मियाे जनता समाजवादी पार्टी नेपाल


जनता समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी मिलेर बनेको एकीकृत पार्टीले शुक्रबार बिहान ११ बजे आयोगमा दल दर्ताको निवेदन दिएको हो। दल दर्ताको निवेदनमा तत्कालीन समाजवादीका अध्यक्ष उपेन्द्र यादव र तत्कालीन राजपाका अध्यक्ष मण्डल संयोजक शरत्सिंह भण्डारीले हस्ताक्षर गरेका छन्।

आयोग समक्ष एकीकृत नयाँ पार्टीले एकताको घोषणापत्र बुझाए पनि अन्य कागजात भने लकडाउनपछि मात्र पेस गर्ने बताएको छ। ‘समाजवादी पार्टी र राजपाको एकता भएर जनता समाजवादी पार्टी बनेको जानकारी हामीले निर्वाचन आयोगलाई दिएका छौं। पार्टीका अन्य कागजात पछि बुझाउँछौं भनेका छौं’, यादवले भने, ‘एकताको धेरै काम बाँकी छ, लकडाउनपछि टुंग्याउँछौं।’

गत मंसिरमा दुवै पार्टीबीच एकता प्रक्रिया अन्तिममा पुगेर बरियतामा कुरा नमिल्दा प्रक्रिया भाँडिएको थियो। एकीकृत पार्टीको पहिलो बरियतामा महन्थ ठाकुर, दोस्रोमा डा.बाबुराम भट्टराई रहने गरी सहमति भएको थियो। बरियताको तेस्रो स्थानमा कुन नेता राख्ने भन्नेमा कुरा नमिल्दा प्रक्रिया भाँडिएको थियो। यादवले आफूलाई तेस्रो बरियतामा राख्नुपर्ने अडान राखेका थिए।

Insert your Ads code here

गत सोमबार मन्त्रिपरिषद्ले पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पु‍र्‍याए दल विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश ल्याएपछि राजपा र समाजवादी पार्टी विभाजित हुनेमा सशंकित थिए। समाजवादी पार्टी उपाध्यक्ष रेणु यादव तथा राजपामा पनि अनिल झाको नेतृत्व पार्टी फुट्न लागेको चर्चा चुलिएको थियो। पार्टी फुट्न लागेको सूचना पाइरहेको दुबै पार्टीका नेताले अध्यायादेश आएलगत्तै एकता प्रक्रियाको वार्ता फेरि सूचारु गरेको थियो।

समाजवादीका यादव र राजपाका महतोबीच मंगलबार भएको फेनवार्ताले बिहीबार बेलुकी भेटवार्ता तय गरेको थियो।बुधबार प्रतिपक्षी दलको बैठकपछि दुबै पार्टीका शीर्ष नेता भैसेपाटीस्थित निर्जला राउतको घरमा जम्मा भएका थिए।

बेलुका ८ बजेबाट सुरु भएको एकता वार्ता सबै भागवण्डापछि मिलाउने सर्तमा १० बजे टुंगियो। दुबै पक्षलाई एकताको घोषणा पत्र बनाउन करिब एक घण्टा समय लाग्यो। ११ बजे एकताको घोषणापत्र सार्वजनिक भयो।

‘संवैधानिक परिषद्मा प्रतिपक्षलाई लत्याउने र पार्टी फुटाउने किसिमका अध्यादेश रातारात ल्याएपछि हामीले फेरि सोचविचार र छलफल थाल्यौं, आफ्नो कुर्सीलाई बचाउनका लागि राजपा र समाजवादीलाई फुटाउन थालेको कुरा थाहा पाएपछि हामी एकता प्रक्रिया टुंग्याउनुपर्छ भनेर लाग्यौं’, नेता महतोले भने, ‘लामो समयदेखि राजपा र समाजवादीबीच एकीकरणको लागि छलफल चलिरहेको थियो। यो मुलुकमा एउटा बलियो विकल्प दिने प्रक्रिया आरम्भ गरौं भनेर राजपा र समाजवादी एकता गरेका छौं।’

यसरी टर्‍यो फुट

एकीकृत पार्टी गठनको जानकारी निर्वाचन आयोगमा दर्ता भएसँगै समाजवादी र राजपा विभाजनबाट जोगिएका छन्। समाजवादीकी उपाध्यक्ष रेणु यादव नेतृत्वमा असन्तुष्ट समूहले शुक्रबारसम्म छुट्टै पार्टी गठन गर्ने तयारी गरेको थियो। असन्तुष्ट समूहमा यादवसहित मो. ईश्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ छन्।

तर, एक सांसद उपत्यका बाहिर भएका कारण असन्तुष्ट समूहले समयमै नयाँ पार्टी गठन गर्न सकेन। यही समयमा समाजवादीले राजपासँग एकता गर्‍यो। बुधबार राजपा र समाजवादीबीच एकता प्रक्रिया फेरि सुरु भएको सूचना पाएपछि असन्तुष्ट समूहले सरकारको सहयोगमा उपत्यका बाहिर रहेका सांसद सुरेन्द्र यादवलाई तत्काल उपत्यका भित्र्याउने तत्परता देखायो।

फलस्वरुप हवाइ यात्रा ठप्प भएको बेला सांसद यादवलाई प्रहरी पहरामा राजधानी झिकाइयो। असन्तुष्ट समूहको योजना बिहीबार निर्वाचन आयोग गएर नयाँ दल दर्ता गर्ने थियो। तर, बुधबार राति नै राजपा र समाजवादीको एकता घोषण भयो।

एकता घोषणपछि यादवलगायतका असन्तुष्ट सांसदहरू पछि हटे। बिहीबार बिहानै सांसद यादव मेरियट होटलबाट निस्किए र पार्टी एकताको स्वागत गरे। त्यसपछि सबै असन्तुष्ट नेताले एकपछि अर्को गर्दै पार्टी एकताको स्वागत गरे।

असन्तुष्ट समूहको नेतृत्वकर्ता समाजवादीकी उपाध्यक्ष यादव भने आफूहरूले पार्टी विभाजन गर्न नखोजेको दाबी गर्छिन्। ‘पार्टीभित्र असन्तुष्टी छ, तर फुटाउने खालको निर्णय भएको छैन। पार्टीका नेताहरू आआफ्नै खालले असन्तुष्ट हुनुहुन्छ यो स्वभाविक हो’, उनले भनिन्, ‘यही समयमा अध्यादेश आयो। पार्टी फुट्छ कि भनेर साथीहरू डराए, त्यस्तो केही छैन।’

संसद्लाई एकताको जानकारी

समाजवादी पार्टी र राजपाबीच भएको एकीकरणबारे संघीय संसद् सचिवालयलाई जानकारी गराइएको छ। पार्टीका संसदीय दलका नेताहरूले बिहीबार संसद् सचिवालयलाई जानकारी गराएका हुन्। संसद् सचिवालयका महासचिवलाई पार्टी एकताको बारेमा संसदीय दलका नेताहरूले पत्र बुझाएका थिए।

वैशाख १० गते राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएको सहमतिपत्र संलग्न गरी पठाइएको जानकारीसहितको व्यहोराको पत्रमा उल्लेख गरिएको छ।

राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारी, राजेन्द्र महतो, महासचिव केशव झा र समाजवादी पार्टीको तर्फबाट डा.शिवजी यादव संसद् सचिवालय पुगेका थिए। उनीहरूले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटालाई पनि भेटेर एकताका बारेमा मौखिक जानकारी गराएकाेे अन्नपूर्ण पाेष्ट अनलाइनमा आकाश क्षेत्रीले लेखेका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!