Loading... आजः शनिबार , श्रावण १२, २०८१

मनिपालको घटनाले अस्पताल पक्षको लापर्वाहीलाई पूर्णरूपले उदाङ्गो बनाइदिएको छः भाजपा


गान्तोक, 21 अगस्त। सिक्किमको नाम चलेको अस्पताल मनिपाल अर्थात सीआरएचमा लगातार रूपमा पछिल्लो 10 दिनमा चारजनाको सही उपचारको कमीमा निधनलाई भारतीय जनता पार्टी सिक्किम राज्य एकाईले गम्भीरतासित लिँदै आफ्नो प्रतिक्रिया व्यक्त गरेको छ।

भाजपाले जारी गरेको प्रेस बयानमा भनेको छ राज्यको सबैभन्दा ठूलो अनि एकमात्र नीजि अस्पताल सीआरएच मनिपालको उपचार व्यवस्थामा हालका दिनमा भइरहेको लापर्वाहीले पछिल्लो 10 दिनमा चारजना विरामीहरूले ज्यान गुमाउनुपरेको घटना अघि आएको छ। हुन त मनिपालको उपचार व्यवस्थामा हेलचेक्राईंको घटनाहरूको कारण विगत लामो समयदेखि पटक-पटक अस्पतालमाथि प्रश्न उठ्दै आएको सर्वविदितै छ तर वर्तमानमा जब राजधानी गान्तोकको एकमात्र वृहत सरकारी अस्पताल पूर्ण रूपले कोभिड19 को निम्ति समर्पित रहेपछि अन्य विरामीहरूको जिम्मेवारी मणिपाललाई दिइएको छ, यस्तोमा अस्पतालको लापर्वाही पनि दिनदिनै बढ्दै जानु दुर्भाग्यको विषय हो। विज्ञप्तिमा अझ भनिएको छ 3 दिन अघि मात्र एकजनाविरामीको निम्ति अस्पताल पक्षले दैलो नखोल्दा उनको दुःखद् निधन हुनपुगेको थियो भने हिजको नयाँ घटनाले अस्पताल पक्षको लापर्वाहीलाई पूर्णरूपले उदाङ्गो बनाइदिएको छ।

विज्ञप्तिमा अझ भनिएको छ, अस्पताल पक्षको यस्तो लापर्वाही नितान्त दुर्भाग्यपूर्ण अनि निन्दनीय रहेको छ। भाजपा सिक्किम मृतात्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछ साथै उनीहरूलाई न्याय दिलाउन सदैव उनीहरूको साथमा उभिने भरोसा दिलाउन चाहन्छ।

Insert your Ads code here

राष्ट्रिय आपदाको वर्तमान समयमा निजी अस्पतालको यस्तो लापर्वाहीलाई ध्यानमा राज्य सरकार अनि स्वास्थ्य विभागले तुरून्तै हस्तक्षेप गर्दै उच्चस्तरीय जाँच गरेर दोषीहरूलाई कड़ा सजाय दिनका साथै पीड़ितहरूलाई न्याय अनि क्षतिपूर्ति दिलाउनुपर्ने प्रदेश भाजपा माग गर्दछ। यसका साथै मनिपालको व्यवस्थापनमा स्वास्थ्य विभागले हस्तक्षेप गर्नुपर्ने अनि उपचार व्यवस्थामा नयाँ मान्दण्ड तय गरेर अस्पतालको विश्वसनीयतालाई नागरिकहरूमाझ पुनः स्थापित गर्नुपर्ने आजको आवश्यकता छ। मनिपाल अस्पतालका साथ साथै मेडिकल कलेज पनि रहेको कारण उपचार व्यवस्थामा अर्द्ध प्रशिक्षित स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको कारण पनि लापरवाहीका घटनाहरू घटेको हुनसक्छ। यसर्थ, उपचार व्यवस्थामा नयाँ मान्दण्ड तय गरिनु अति नै आवश्यक छ। विशेष गरी आपतकालीन कक्षमा उपचारको नयाँ नीति बनाइनु अति नै जरूरी रहेको छ भाजपाले माग गरेको छ।

मनिपाल अस्पतालमा उपचार प्रक्रियामा भएको लापर्वाहीको सूची धेरै लामो रहेको छ, तर अहिले दिनदिनै यस्ता घटनाहरू अघि आउनु ठूलो चिन्ताको विषय हो। यसर्थ, सरकारले मनिपाल उपचार व्यसव्थापनमा शख्त नीति तय गर्नुपर्ने देखिएको छ ताकि लापर्वाहीको यो घटना नै अन्तिम घटना होस् भाजपाले उल्लेख गरेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!