गान्तोक, 31 मार्च। सिक्किमको राजधानी गान्तोकको मुख्य सब्जी मण्डी लालबजारको भीड नियन्त्रण गराउन र विभिन्न गुनासोलाई समाधान गर्न राज्यका शहरी विकास तथा आवास मन्त्री अरुण उप्रेतीले निरिक्षण भ्रमण गरे। मन्त्री सित गान्तोक नगर निगमका मेयर शक्तिसिंह चौधरी, निगमका अतिरिक्त आयुक्त कर्मा वाङ्चुक चिङ्गापा, बजार अफिसर योगेन स्याङ्देनको उपस्थिति रहेको थियो। विशेषरूपले पसले र ग्राहकहरू बीचको सामाजिक दूरत्व कठोरसित पालन गर्नुपर्ने मन्त्रीले निर्देश दिए। उनले लालबजारको सबैजसो दोकानेहरूसित प्रत्यक्ष कुराकानी गर्दै आफू र समाजको निम्ति दूरी सुनिश्चित गर्नु अनिवार्य रहेको कुरा बुझ्दै सबैले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। उनले भने, यसरी घरीघरी आएर निरिक्षण गर्न सकिँदैन तर सबैले जिम्मेवारी बुझेर आफ्नो जिम्मेवारी पालन गरेको खण्डमा समस्या हुँदैन। उनले आफू लालबजार भ्रमणमा आउनुको कारण यहाँ बढेको भीडभाड र चहलपहलबारे धेरै गुनासोहरू आएको हुनाले गर्दा आफूले यहाँ आएर यस बारे जानकारी लिएको बताए। लालबजारमा गत आइतबारदेखि मानिसहरूको भीड एकाएक बढ्न थालेकोले अनियन्त्रित अवस्था सिर्जना हुन अघि नै मन्त्रीलगायत प्रसाशनले अगावै सतर्कता अवलम्बन शुरु गरेका छन्। मन्त्रीको भ्रमणपछि पसले र ग्राहकहरूले सामाजिक दूरीलाई सुनिश्चित गरिएको पाइएको छ भने यसलाई निरन्तरता दिन आवश्यक रहेको छ।