मल्ली चेकपोस्ट प्रकरण: दोषीहरु विरुद्ध कडा कार्वाहीको माग
सोरेङ, २ जुलाई) दक्षिण-पश्चिम जिल्ला भित्रिने मुख्य प्रवेशद्वार मल्ली चेकपोस्टबाट कोभिड १९-को प्रोटोगललाई कुल्चेर सिक्किम भित्रिएको प्रकरणमा लिएर चौतर्फी आलोचना भइरहेको छ।
उल्लेख्य, बुधबारको दिन डब्लूबी-७४एस-०६२८ नम्बरधारी वाहनमा पाँच जना गौरी शंखर, इन्दु गुप्ता, निलम गुप्ता, राज कुमार गुप्ता र चार वर्षका नानीसहित उनीहरू मल्ली चेकपोस्टमार्फत सिक्किम भित्रिएर जोरथाङमा उनीहरू स्व. होरालाल प्रसादको अन्तिम संस्कारमा सहभागी बनेका थिए।
कोविड १९-लाई केन्द्र गर्दै सिक्किम सरकारले जारी गरेको निर्देशिका अनुसार बाहिर राज्यबाट सिक्किम भित्रिएका कुनै पनि मानिसले प्रथमतः सरकारले बनाएका नियम मताबिक आ-आफ्नो दस्तावेज जम्मा गर्नुपर्ने अनि यी दस्तावेज सटीक पाइएमात्रै राज्य भित्रिनु पाउने सरकारको निर्देशिका छ। अन्य राज्यबाट भित्रिएका कुनै पनि नागरिकलाई चेकपोस्टबाट सिधै क्वारेन्टाइन सेन्टरमा लगिने अनि उनीहरूको कोरोना भाइरसलाई केन्द्र गर्दै नमुना जाँच गरिन्छ। तर मल्ली चेकपोस्टबाट छिडेका उनीहरूले जोरथाङस्थित एउटा सामाजिक कार्यमा उपस्थिति दिएर कानुन व्यवस्थाको खिल्ली उडाएको सिक्किमे सचेत नागरिकहरुको आरोप छ। मल्ली चेकपोस्टमा तैनाथ पुलिस विभागका ड्युटीकर्मीले कसको इशारामा यति ठूलो गल्ती र लापरबाही गर्यो भन्ने प्रश्न सँगसँगै यो प्रकरण लिएर सिक्किमे नागरिकहरुले तिखो बिचारहरु अभिव्यक्ति गरिरहेका छन्। थप जानकारी अनुसार जोरथाङको एउटा सामाजिक कार्यमा सहभागी बनेका ती पाँच जना मध्ये दुई जना गौरी शंखर र उनकी पत्नी इन्दु गुप्ता सिलगढीबाट डब्लूबी-७४एस-०६२८ नम्बरधारी वेगेनर वाहन लिएर सिक्किम तर्फ आए। उनीहरु डेढ महिना अघिदेखि सिलगढीमा थिए। अन्य नानीसहित कालेबुङबाट आएका निलम गुप्ता र उनको पति राज कुमार गुप्ता टिस्टाबाट सोही वाहनमा चेढेर मल्ली चेकपोस्ट हुँदै सिक्किम भित्रिएका हुन्। उनीहरू विरुद्ध पुलिसले डिजास्टर मेनेजमेन्ट एक्ट २००४ अन्तर्गत मामिला दर्ता गरेको पुलिस सुत्रले जानकारी दिएको छ। यी सबैलाई अहिले दक्षिण सिक्किमको एसआईसीबी कार्फेकटारको क्वारेन्टाइन सेन्टरमा राखिएको छ। तर यी प्रकरणलाई लिएर सामाजिक संजालमा चौतर्फी आलोचना भएपश्चात् मात्रै प्रशासन निन्द्राबाट जागेर क्वारेन्टाइनमा लगिएको पनि आरोपहरु आइरहेको छ। यति मात्र होइन, मल्ली चेकपोस्टमा तैनाथ ड्युटी कर्मीलाई कसले मिसलिड गर्यो? भन्ने प्रश्नको जवाफ काचै छ। अनि ताकतवार मान्छेहरुको बल मिचाईमा ती ड्युटीमा रहेका पुलिसकर्मीलाई त बलिको बाख्रा बनाउने त होइन? भन्ने प्रश्नहरु पनि आमजनताले उठाउन थालेका छन्। अर्कोतिर सिक्किममा नै जन्मिएर, हुर्किएकी र पढेकी सुस्मिता सुब्बा र उनको परिवारले सरकारलाई लाख गुहार माग्दा पनि सरकारले कोविड १९-को नियम र निर्देशिकाको हवाला दिँदै उनीहरूलाई सिक्किम प्रवेश गर्न दिएको छैन। तर यी ताकतवार व्यक्तिको आफन्तहरु कसरी यति सजिलै सबै नियमलाई ताकमा राखेर भित्रिए भन्ने अर्को गम्भीर प्रश्न उठेको छ। मल्ली चेकपोस्ट प्रकरणलाई लिएर सरकारले स्वतन्त्र जाँच समिति बनाएर दोषीहरुलाई कडा कार्वाही गर्नुपर्ने माग सचेत नागरिकबाट उठेको छ। (सरोज गुरुङ)