महिलाहरुको सशक्तिकरण तथा कानूनबारे जानकार बनाउनका लागि ग्रामिण महिलाहरुलाई कानूनी साक्षरता अभिमुखीकरण गरिएको छ ।
बर्दिया जिल्लाको राजापुर नगरपालिका २ केन्द्रिय कार्यालय रहेको युनिक नेपालद्धारा गरिएको सो साक्षरता अभिमुखिकरण गेरुवा गाउँपालिकाको वडा नं. ५, पथरैयाका महिलाहरुलाई गरिएको हो ।
कानूनी साक्षरता अभिमुखीकरणमा वडा तथा नगरपालिकाबाट दिने सेवाहरु, घरायसी लिखत, अंशवण्डा तथा जिउनी अंश, अपुताली तथा दान बकस, विवाह दर्ता वहु विवाह सम्बन्धी कसुर, सम्बन्ध विच्छेद र यौन दुव्र्यवहार तथा जबरजस्ती करणी र कानूनी उपचार सम्बन्धमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रमलाई अधिवक्ता द्धय सन्तराम धारकटुवा थारु र महादेव चौधरीले सहजीकरण गर्नु भएको थियो ।
युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षमा भएको सो अभिमुखीकरणको समापन गर्दै वहाँले महिलाहरु कानूनको बारेमा जानकार हुन आवश्यक रहेको बताउनु भयो । महिलाहरुले कानूनको बारेमा जानकार भएमा आफुले पाउने अधिकार सहजरुपमा प्राप्त गर्न सक्ने बताउनु भयो ।