Loading... आजः शुक्रबार , फाल्गुन २, २०८१

महिला हिंसा अन्त्य तथा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : एक संक्षिप्त जानकारी


 

      ✍️ बसन्तराज अधिकारी

Insert your Ads code here

 

१. पृष्ठभूमि :

सन् १९६० नोवेम्बर २५ का दिन डोमेनिकन गणतन्त्रका मिराबेल परिवारको ३ जना दिदी बहिनीलाई तत्कालीन तानाशाह राफेल त्रुजिलोले निर्ममता पुर्वक हत्या गर्न लगाई एकै परिवारका तीन जना दिदीबहिनी पेट्रीया मिनर्भा र मारियाको हत्यालाई लिङ्गको आधारमा भएको राजनीतिक हिंसाको रूपमा लिएर उनीहरुको सम्मान र सम्झनाको लागि महिला हिंसा विरुद्धको दिवसको रूपमा १६ दिने अभियान मनाउन थालिएको हो । नोवेम्बर २५ वाट शुरु भएको यो अभियान विभिन्न दिवस र कार्यक्रमका रूपमा मनाउँदै १६ औं दिन डिसेम्बर १० मा समापन गरिन्छ । संयुक्त राष्ट्र संघका अनुसार अझै पनि बिश्वमा एकतिहाई महिलाले आफ्नो जीवनकालमा कुटाई अथवा बलात्कार भोग्नु परेको अवस्था छ ।

 

 

यो अभियान सन् १९९१ देखि प्रत्येक बर्ष २५ नोवेम्बर देखि १० डिसेम्बर सम्म मनाउने गरिएको छ । महासभाले नोवेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने निर्णय गर्यो । यो अभियान विभिन्न देशहरूमा जनचेतनामूलक कार्यक्रम गरि मनाईन्छ । नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०७५\०७\२९ को निर्णय अनुसार हरेक बर्ष मंसिर १० अर्थात् नोवेम्बर २५ लाई लैङ्गिक हिंसा विरुद्धको अभियान दिवसको रूपमा मनाउने निर्णय समेत गरेको छ । त्यसै गरि यश बर्ष मिति २०७७ मंसिर १० देखि २०७७ मंसिर २५ गते तदनुसार २५ नोवेम्बर देखि १० डिसेम्बर २०२० सम्म कोभिड -१९ को संक्रमण, रोकथाम र नियन्त्रण लाई मध्यनजर राख्दै भौतिक तथा सामाजिक दुरी कायम गरि आवश्यक स्वास्थ्य मापदण्डअनुसार पालन गरि सभ्य भव्य सँग मनाउने निर्णय अनुसार राजापुर नगरपालिका, राजापुर बर्दियाको आयोजनामा साझेदारी संस्था KMIS, Nepal, CSDR, BEE GROUP, Banke UNESCO Club र मिडिया पार्टनर कोठियाघाट अनलाइन र साथी एफएम ९५ मेघाहर्सवाट प्रशारण गर्ने गरि नगर प्रमुख श्री शिवप्रसाद चौधरी र उपप्रमुख श्री मनकला कुमारी चौधरीले बिधिवतरुपमा दिपप्रज्वलन गरि शुभारम्भ गर्नुभएको थियो ।

२. लिंग र लैंगिकता बिच भिन्नता :

महिला र पुरुष बिचको जैविक भिन्नता वा महिला र पुरुष विच रहेको प्राकृतिक नैसर्गिक भिन्नतालाई लिंग (Gender) भनिन्छ । जीव बिज्ञानका दृष्टिकोणवाट गरिएको बनावट, हर्मोन क्षमता, बच्चा जन्माउने शक्ति जस्ता गुणहरु जुन महिला र पुरुष बिच हुने भिन्नतालाई लिङ्ग (Sex) भनिन्छ ।

“Gender” refers to the socially constructed roles and responsibilities a women and a given culture and location.” These roles are influnced by perceptions and expectations arising from cultural, political, environmental, economic, social and religious factor as well as custom, law, class, ethinticity and individual or institutional bias. Gender attitudes and behaviours are learned and can be changed.

यसप्रकार लिंगको कारणवाट महिला र पुरुषमा गरिने सांस्कृतिक, राजनीतिक, वातावरणीय, आर्थिक, सामाजिक र धार्मिक भेदभावपुर्ण व्यवहारको अध्ययन लैङ्गिक (Gender) मा गरिन्छ ।

लिंग भन्नाले जन्मजात प्राप्त जैविक भिन्नतालाई लिङ्ग भनिन्छ । जस्तैः स्त्रिलिंग, पुरुष लिङ्ग र अन्य लिङ्ग । महिला र पुरुष तथा तेस्रो लिंग । महिला र पुरुष तथा तेस्रो लिंग बिचको प्राकृतिक भिन्नता नै तेस्रो लिंग हो । जस्तैः महिलामा योनी, स्तन र पाठेघर हुन्छ । महिलाहरु रजस्वला हुन्छन्, डिम्ब उत्पादन र गर्भधारण गर्ने क्षमता राख्दछन् भने पुरुषमा लिङ्ग र अण्डकोष हुन्छ । पुरुषहरुले सुक्रकिट उत्पादन र गर्भधारण गराउने क्षमता राख्दछन् । महिला र पुरुषमा भएको प्राकृतिक भिन्नता यति मात्रै हो । यसैलाई हामी लिंग भन्दछौं । यो सर्वव्यापी छ, संसारभरी समान छ, अविभाजित र सामान्यतया अपरिवर्तनशील छ ।

लैंगिकता फरक लिंग भएकै आधारमा महिला, पुरुष र तेस्रो लिङ्गीहरुको लागि समाजले निर्धारण गरेको फरकफरक कामको भूमिका, महिला र पुरुषलाई हेर्ने फरकफरक दृष्टिकोण, महिला र पुरुषका लागि बनाईएका फरकफरक धारणा, उनिहरुसँग गरिने अलगअलग व्यवहार, असमान कानुनी व्यवस्था, नीति तथा कार्यक्रम र महिला र पुरुषका लागि भिन्न भिन्न मुल्य मान्यता, रीतिरिवाज, धर्म संस्कार र संस्कृतिहरु सबै लैङ्गिकता हुन् ।

३. लैङ्गिक हिंसा विरुद्ध कानुनी प्रावधान :

लैंगिक समानता भन्नाले महिला र पुरुष विच समान अधिकार, समान अवसर र पहुँच, लाभको समान बाँडफाँड, समान व्यवहार, व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्णय तथा छनौटको स्वतन्त्रता, समान सहभागिता, वैवाहिक अधिकार, महिला स्वास्थ्य तथा प्रजनन अधिकार, आर्थिक, सामाजिक, नागरिक तथा राजनीतिक अधिकार, न्यायमा पहुँच, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्य तथा समाज पहुँचको लागि विशेषाधिकारको ग्यारेन्टी हुने अवस्था लाई बुझिन्छ ।

हिंसा भन्नाले कसैको सार्वजनिक वा निजी जीवनमा लैंगिकताको आधारमा शारीरिक, मानसिक, आर्थिक, यौनजन्य, सामाजिक, घरेलु हिंसा लगायतको कार्य द्वारा कुनै व्यक्तिलाई क्षति वा पीडा हुने कार्य वा विभेदजन्य कार्य भन्ने बुझिन्छ । विशेष गरि महिला तथा बालबालिका विरुद्ध हुने हिंसाहरु लैंगिक हिंसा हुन् ।

लैंगिक हिंसा सामाजिक अपराध हो । लैंगिक हिंसा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चुनौतीको बिषय बनेको छ । लैंगिक हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कानुन नीति, निर्देशनहरु तय भएका छन् भने नेपालले पनि आफ्नो प्रतिबद्धता जारी गरिसकेको छ । लैंगिक हिंसा अन्त्यका लागि नेपाल पक्ष रहेको विभिन्न अन्तर्राष्ट्रिय कानुनहरु नेपालको संविधान, मुलुकी फौजदारी संहिता ऎन, २०७४, स्थानीय सरकार सञ्चालन ऎन, २०७४ (संशोधन सहित), छाउपडी प्रथा उन्मुलन निर्देशिका, २०६४, श्रम ऎन, २०७४, कसुर र सजाय ऎन, २०६६, कार्यस्थलमा हुने यौनजन्य व्यवहार (निवारण) ऎन, २०७१, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऎन, २०६४, बोक्सी आरोप (कसुर सजाय) ऎन २०७२ सुरक्षीत मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, २०७५ लगायत नेपालमा विद्यमान कानुनले विभिन्न व्यवस्था गर्नुका साथै सरकारी नीति नियममा पनि विभिन्न व्यवस्था गरि कार्यक्रम घोषणा गरिएका छन् । तसर्थ लैंगिक हिंसा अन्त्य गर्नु सबैको कर्तव्य हो ।

४. लैंगिक हिंसा सँग सम्बन्धित केही मुख्य कानुनी व्यवस्थाहरु :

लैंगिक समानता भन्नाले महिला र पुरुष बीच समान अधिकार, समान अवसर र पहुँच, लाभको समान बाँडफाँड, समान व्यवहार, व्यक्तिगत स्वतन्त्रता, आत्मनिर्णय तथा छनौटको स्वतन्त्रता, समान सहभागिता, वैवाहिक अधिकार, महिला स्वास्थ्य तथा प्रजनन अधिकार, आर्थिक सामाजिक, नागरिक तथा राजनीतिक अधिकार, न्यायमा पहुँच महिला तथा बालबालिका विरुद्ध हुने हिंसा अन्त्य तथा समान पहुँचको लागि विशेषाधिकारको ग्यारेन्टी हुने अवस्थालाई बुझिन्छ ।

४.१ भेदभाव जन्य कार्य :

कुनै व्यक्तिको उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, शारीरिक अवस्था, अपाङ्गता स्वास्थ्य स्थिति, बैबाहिक स्थिति, गर्भाबस्था, भाषा वा क्षेत्र, बैचारिक आस्था वा यस्ता अन्य कुनै आधारमा बिभेदपुर्ण व्यवहार गरेमा भेदभाव जन्य कार्य गरेको मानिन्छ ।

४.१.१ भेदभाव जन्य कार्य गरेमा हुने सजाय :

® कानुन बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले भेदभाव गरेमा भेदभावपुर्ण व्यवहार गर्ने अधिकारीलाई तीन बर्ष सम्म कैद वा तीस हजार रुपैया सम्म जरिवाना वा दुवै सजाय हुन्छ । यस्तो भेदभाव भएमा पीडितले सम्बन्धित जिल्ला अदालतमा जहिले सुकै मुद्दा दर्ता गर्न सक्छ ।

® वस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्दा भेदभाव गर्नु हुँदैन । यस्तो भेदभाव गरेमा गर्ने व्यक्तिलाई पाँच बर्ष सम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुन्छ ।

® कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्नु हुँदैन । यस्तो व्यवहार गर्ने व्यक्तीलाई पाँच बर्ष सम्म कैद वा पचास हजार रुपैया सम्म जरिवाना हुने ।

® महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा सोही बिषयमा अन्य कुनै किसिमका भेदभाव छुवाछुत वा अमानवीय व्यवहार गर्न गराउन हुँदैन । यस्तो व्यवहार गरे वा गराएमा तीन महिनासम्म कैद वा तीनहजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुन्छ । राष्ट्रसेवकले कसुर गरेमा निज थप तीन महिना सम्म कैद सजाय हुन्छ ।

४.२ बिबाह सम्बन्धि व्यवस्था :

कम्तीमा बीस बर्ष उमेर पुगेका पुरुष र महिलाले कुनै उत्सव, समारोह औपचारिक कार्यक्रम वा अन्य कुनै कार्यवाट वा अदालतमा बिबाह दर्ता गरि एक अर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिन्छ ।
४.२.१ बाल बिबाह गर्न नहुने : कानुन अनुसार बिबाह गर्ने उमेर बीस बर्ष भन्दा कम उमेरमा बिबाह गरे गराएमा बाल बिबाह गरेको मानिन्छ । बीस बर्ष भन्दा कम उमेरमा बिबाह गराउनेलाई तीन बर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुने र त्यस्तो बिबाह स्वत: बदर हुन्छ ।

४.२.२ मन्जुरी बिना बिबाह गर्न नहुने : बिबाह गर्ने व्यक्तिको मन्जुरी बिना भएको बिबाह बदर हुन्छ । बीस बर्ष उमेर पूरा नभएको व्यक्तिले दिएको मन्जुरी लाई मन्जुरी मानिंदैन । मन्जुरी बिना बिबाह गर्ने वा गराउनेलाई दुई बर्ष सम्म कैद र बीस हजार रुपैंयासम्म जरिवाना हुनेछ ।

४.२.३ हाडनाता बिबाह गर्न नहुने : कसैले परम्परा अनुसार चली आएको अवस्थामा बाहेक हाडनाता भित्र जानीजानी बिबाह गर्नेलाई हाडनाता करणीको कसुरमा हुने सजाय र गराउनेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय भइ त्यस्तो बिबाह स्वत: बदर हुने बिबाह थाहा नपाई भएकोमा त्यस्तो बिबाह बदर हुन्छ ।

४.२.४ बिबाहमा (दाइजो लगायत) लेनदेन गर्न नहुने :

बिबाहमा कुनै दाइजो वा सम्पत्ति लेनदेन गर्न हुँदैन त्यस्तो कार्य गर्ने व्यक्तिलाई तीन बर्ष सम्म कैद वा तीस हजार सम्म जरिवाना वा दुवै सजाय हुन्छ । बिबाह गरिसकेपछि सम्पत्ति वा दाइजो माग गर्ने र सो नदिएको कारणले दुलही वा नातेदारलाई हैरान पार्ने, सताउने वा कुनै अमानवीय वा अपमानजन्य व्यवहार गर्ने व्यक्ति लाई पाँच बर्ष सम्म्म कैद वा पाँच हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ । यदि कसैले सम्पत्ति लिएको रहेछ भने सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

४.२.५ बहु बिबाह गर्न नहुने :

सम्बन्ध बिच्छेद वा अंश बण्डा गरि छुट्टिएर बसेकोमा बाहेक बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को बिबाह गर्नु हुँदैन । त्यस्तो कार्य गरे गराएमा बहु बिबाह भएको मानिन्छ । बहुबिबाह गर्ने गराउने व्यक्तिलाई एक बर्ष देखि पाँच बर्ष सम्म कैद र दस हजार रुपैयाँ देखि पचास हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । बहु बिबाह स्वत: बदर हुन्छ ।

४.२.६ उजुरी गर्ने अवधि :

यसमा लेखिएको कसुर भए गरेको कुरा थाहा पाएको मितिले तीन महिना भित्र उजुरी गर्नु पर्छ ।

४.२.७ उजुरी गर्ने निकाय :

यश बिषयमा प्रहरी कार्यालयमा उजुरी गर्नु पर्छ ।

४.३ ज्यान लिने सम्बन्धि व्यवस्था :

४.३.१ कसैलाई बलात्कार गरि मार्नु जघन्य अपराध हो । बलात्कार पछि कसैको ज्यान मारेमा आजिवन काराबासको सजाय हुन्छ ।

४.३.२ कुनै हिंसा जन्य कार्य गर्दा मृत्युु भएमा ज्यान मारेको सजायको साथै हिंसा गरेको सजाय पनि थप हुन्छ ।

४.३.३ आत्महत्या गर्ने परिस्थिति सिर्जना गर्न नहुने : कुनै व्यक्ति स्वयंले आफ्नै ज्यान लिएमा आत्महत्या गर्न उक्साउन प्रेरित गर्न वा आत्महत्या गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुँदैन । यस्तो कार्य गर्ने व्यक्तिलाई पाँच बर्ष सम्म कैद वा पचास हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । साथै यश प्रकारको कसुरवाट कसैको जिउ ज्यान वा सम्पत्तिमा हानी नोक्सानी वा क्षति भएका कसुरदातावाट पीडित व्यक्ति वा निज नभए निजको हकवाला लाई मनासिब क्षतिपूर्ति भराई दिनुपर्छ । त्यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले ६ महिना भित्र प्रहरीमा उजुर गर्नु पर्दछ ।

४.४ गर्भपतन सम्बन्धि व्यवस्था :

गर्भपतन भन्नाले गर्भमा रहेको भ्रुण स्वाभाविक रूपमा जन्मन सक्ने अवस्था अगावै गर्भाशय वाट भ्रुण बाहिर निकाल्ने मनसायले गरिने कार्यलाई गर्भपतनको कसुर भनिन्छ । गर्भपतन गराउँदा बच्चा मरेको जन्मेमा वा जिउँदो जन्मी तत्काल मरेमा पनि गर्भपतन गराएको मानिन्छ । कानुन बमोजिम बाहेक गर्भपतन गर्न गराउन पाईदैन । कसैले गर्भवती महिलालाई करकाप गरि वा धम्कि दिई वा ललाईफकाई वा प्रलोभनमा पारी वा जानीजानी गर्भपतन गराउन हुँदैन । यसरी गर्भपतन गर्ने वा गराउने व्यक्तिलाई गर्भको अवधी हेरी कम्तीमा एकबर्ष सम्म कैद र दस हजार रुपैंया सम्म जरिवाना देखी पाँच बर्ष सम्म कैद र पचास हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । जिउँदो बच्चा जन्मी मारेमा वा फालेमा जन्मकैदको सजाय हुन्छ । तर, देहायको अवस्थामा मान्यता प्राप्त चिकित्सकको सहयोगमा गर्भवती महिलाको मन्जुरीले गर्भपतन गराउन सकिन्छ ।

४.४.१ गर्भपतन गराउन सक्ने अवस्था :

® गर्भवती महिलाको मन्जुरीले बाह्र हप्ता सम्मको गर्भपतन गराएमा

® गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्ने वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भै त्यस्तो महिलाको मन्जुरीले गर्भपतन गराइएकोमा ।

® जबर्जस्ती करणी वा हाडनाता करणी वाट रहन गएको २८ हप्ता सम्मको गर्भ गर्भवती महिलाको मन्जुरीले गर्भपतन गराइएकोमा,

® रोग प्रतिरोधात्मक क्षमता उन्मुक्ति गर्ने (एचआईभी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मन्जुरीले गर्भपतन गराईएकोमा ।

४.४.२ हदम्याद : गर्भपतन सम्बन्धि कसुर भएको कुरा थाहा पाएको मितिले ५ महिना भित्र प्रहरीमा उजुर गर्नुपर्दछ ।

४.५ तेजाब वा अन्य कुनै पदार्थ प्रयोग गरि कुरुप पार्न नहुने सम्बन्धि व्यवस्था :

® तेजाब वा अन्य रासायनिक, जैविक वा बिषालु पदार्थ प्रयोग गरि कुरुप पारेमा पाँच बर्ष देखि आठ बर्ष सम्म कैद र एकलाख रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्म जरिवाना र अन्य अंग कुरुप पारेमा वा शारीरिक पीडा पुराएमा तीन बर्ष देखि पाँच बर्ष सम्म कैद र पचास हजार रुपैयाँ देखि तीन लाख रुपैयाँ सम्म जरिवाना हुन्छ ।

® क्षतिपूर्ति : जरिवाना बापत प्राप्त पुरै रकम पीडित लाई क्षतिपूर्ति बापत दिनुपर्ने । साथै उक्त घटनावाट पिडितको जिउ वा ज्यानमा हानी नोक्सानी भएमा मनासिब क्षतिपूर्ति समेत भराई दिन सक्ने कानुनी व्यवस्था छ ।

® हदम्याद : यसप्रकारको घटना घटेको मितिले एक बर्ष भित्र प्रहरीमा उजुर गर्नुपर्दछ ।

४.६ जबर्जस्ती करणी कसुर सम्बन्धि व्यवस्था :

कसैले मन्जुरी नलिई करणी गर्नु हुँदैन । अठार बर्ष भन्दा कम उमेरको कुनै बालिकालाई करणी गर्दा मन्जुरी लिए पनि जबर्जस्ती करणी गरेको मानिन्छ । तर, करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यान पारी वा अपहरण गरि वा शरीर बन्धक लिई वा होस् ठेगानामा नरहेको अवस्थामा लिएको मन्जुरी मानिदैन ।

४.६.१ जबर्जस्ती करणी गरेकोमा हुने सजाय :

® पति पत्नीलाई जबर्जस्ती करणी गर्न नहुने : बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेकोमा पाँच बर्ष सम्म कैद हुनेछ ।

® मानव रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआईभी पोजेटिभ) भएकोले जबर्जस्ती करणी गर्न नहुने : नियतवश जबर्जस्ती करणी गरेमा माथी उल्लिखित सजायमा थप दस बर्ष सम्म कैद र एकलाख रुपैयाँ सम्म जरिवाना हुनेछ ।

® सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजेज) भएको थाहा पाउँदा पाउँदै कसैले जबर्जस्ती करणी गरेमा थप तीन बर्ष सम्म कैद र एकलाख रुपैयाँ सम्म जरिवाना हुनेछ ।

® सामुहिक रूपमा बलात्कार गरेमा : सामुहिक रूपमा जबर्जस्ती करणी गरेमा वा ६ महिनाभन्दा बढीको गर्भवती अशक्त वा अपांग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिला लाई वा हतियार देखाई जबर्जस्ती करणी गर्दा हुने सजायमा थप पाँच बर्ष सम्म कैद सजाय हुनेछ ।

® हाडनातामा जबर्जस्ती करणी गरेमा : कसैले बिबाह गर्न नहुने, नाता वा सात पुस्ता सम्मको हाड नाताकी महिलालाई जबर्जस्ती करणी गरेकोमा जन्मकैद देखि एक बर्ष देखि तीन बर्ष सम्म कैद र दस हजार रुपैयाँ देखि तीस हजार रुपैयाँ सम्म जरिवानाको सजाय हुन्छ । यस्तो कसुरमा पिडितले जहिलेसुकै प्रहरीमा उजुरी गर्न सक्छ ।

® थुनामा रहेको व्यक्ति सँग करणी गर्नेलाई : तीन बर्ष सम्म कैद सजाय र त्यस्तो करणी यश ऎन वा अन्य कानुन अनुसार पनि कसुर हुनेमा सो सजायमा यश दफा बमोजिमको सजाय थप हुनेछ ।

® आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्ति सँग करणी गर्नेलाई तीन बर्ष सम्म कैद सजाय र त्यस्तो करणी यश ऎन वा अन्य कानुन अनुसार पनि सजाय हुनमा सो सजायमा यश दफा बमोजिमको सजाय थप हुन्छ ।

® बाल यौन गर्नेलाई तीन बर्ष सम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था छ । अठार बर्ष मुनिका बालबालिकाको मन्जुरी लाई मानिन्र छैन ।

® कार्यस्थलमा वा सेवाग्राही सँग करणी गर्न नहुने : कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्ति सँग करणी गर्नेलाई चार बर्षसम्म कैद र चालीस हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । यस्तो कसुरमा जबर्जस्ती करणीमा हुने सजायका साथै श्रम ऎन २०७४ को दफा १३२(२) बमोजिम सेवावाट हटाउन सकिने समेत व्यवस्था रहेको छ । यश ऎन वा अन्य कानुन अनुसार पनि कसुर हुनेमा सो सजायमा यश दफा बमोजिमको सजाय थप हुने व्यवस्था गरिएको छ ।

® कुनै पनि प्रकारको यौन दुर्व्यवहार गर्नेलाई : तीन बर्षसम्म कैद र तीस हजार रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था गरिएको छ ।

® हदम्याद : माथी उल्लिखित हाडनातामा जबर्जस्ती करणी भएकोमा जहिलेसुकै र अन्य कसुरमा घटना घटेको मितिले एक बर्ष भित्र प्रहरीम उजुरी दिनुपर्छ ।

® क्षतिपूर्ति : हाडनाता करणी गरेको बाहेक माथी उल्लिखित अन्य कसुरमा पीडित व्यक्तिलाई कसुरदातावाट मनासिब क्षतिपूर्ति भराईदिनु पर्नेछ ।

४.७ कार्यस्थलमा हुने यौनजन्य हिंसा सम्बन्धि कानुनी व्यवस्था : कार्यस्थलमा कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गर्नु हुँदैन, गरेमा कसुरको प्रकृति हेरी छ महिनासम्म कैद वा पचास हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुन्छ । कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गरेमा अन्य कानुन बमोजिम सजाय हुने अवस्था रहेछ भने थप सजाय हुन्छ । कार्यस्थलको यौनजन्य हिंसाको उजुरी गर्ने अवधी घटना घटेको मितिले ९० दिन भित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुपर्छ । आफुलाई परेको हिंसाको बारेमा पीडित वा निजको तर्फबाट अन्य व्यक्तिले व्यवस्थापक समक्ष पन्ध दिन भित्र लिखित वा मौखिक रूपमा गुनासो गर्न सक्नेछ । कार्यस्थल यौन हिंसा मुक्त राख्न कार्यालय प्रशासकले आवश्यक व्यवस्था गर्नुपर्ने छ ।

क्षतिपूर्ति : कार्यस्थलमा हुने यौनजन्री हिंसाको कसुरमा पीडित व्यक्तिलाई निर्णय गर्ने अधिकारीले कसुरदारवाट मनासिब क्षतिपूर्ति भराईदिनु पर्छ ।

४.८ व्यक्तिगत गोपनियता विरुद्ध कसुर र सजाय :

® अर्काको कुरा सुन्ने वा ध्वनि रेकर्ड गर्ने, अर्काको गोप्य कुरा प्रकट गर्ने, अनुमति बिना कुनै व्यक्तिको तस्बिर खिच्ने वा तस्बिरको स्वरुप बिगार्ने कार्य गर्ने, एकको तस्बिरको केही भाग अर्को व्यक्तिको भागसँग राखी वा अन्य कुनै किसिमले बिकृत रुपको तस्बिर बनाउने वा प्रकाशन गर्ने, अर्काको चिट्ठी खोल्ने वा टेलिफोनमा गरेको कुरा सुन्ने कार्य गर्ने, विद्युतीय माध्यमद्वारा गोपनियता भङ्ग गर्ने, छलकपटपुर्ण रुपले टेलीफोन वा सन्देश प्रवाह गर्ने, कसैलाई हैरान पार्ने बदनियतले चिट्ठी पत्र लेख्ने, अरुको शरीर खानतलासी गर्न, अरुको आवासमा अनधिकृत प्रवेश गर्न गराउन नहुने व्यवस्था गरिएको छ । यस्तो कार्य गरे गराएमा एक बर्षदेखी तीन बर्ष सम्म कैद सजाय तथा नगद जरिवानाको सजाय तथा पीडितलाई क्षतिपूर्ति समेत भराईदिने कानुनी व्यवस्था छ । यस्तो घटना घटेमा मर्का पर्ने व्यक्तिले कसुर गरेको मितिले तीन महिना भित्र प्रहरीमा उजुरी दिनुपर्नेछ ।

क्रमशः
अर्को शृङ्खलामा …………

सम्पादन तथा लेखक परिचय :
~~~~~~~~~~~~~~~~~~

✍️ बसन्तराज अधिकारी
अधिवक्ता – एम.ए. (राजनीतिशास्त्र) ; बी.एल:, (कानुन) बी.ए. (अर्थशास्त्र/राजनीतिशास्त्र) ; बी.एड. (शिक्षा)
हाल : उपसचिव, नेपाल सरकार
कामकाज : प्रमुख प्रशासकीय अधिकृत
राजापुर नगरकार्यपालिका कार्यालय
राजापुर, बर्दिया ।

✍️ सम्पादन तथा लेखन : बसन्तराज अधिकारी
घोराही, दाङ
हाल: राजापुर, बर्दिया ।

सन्दर्भ सामग्रीहरु (References)
~~~~~~~~~~~~~~~~~~~

१. लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (२०७७/०८/१० देखि २०७७/०८/२५) २५ नोवेम्बर देखि १० डिसेम्बर २०२० राजापुर नगरपालिकावाट बितरित पम्प्लेट पर्चावाट साभार र सामान्य परिमार्जन समेत गरिएको ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!