मगन, 25 मई। विगत तीन दिनदेखि उत्तर सिक्किमको विभिन्न स्थानमा परिरहेको मुसलधारे पानीले उत्तर सिक्किम हाइवेमा पर्ने मियुङछु-मा बडेको पानीले यातायात बाधित गरेको छ। हिजो पनि मियुङ्छु बडेपछि सडक मुनीबाट बनाइएको सुरुङमा नअटेर सडकबाटै पानी बग्न थालेपछि यातायात बाधित बनेको हो। आज दिनभरि नै खोला बडेर यातायातमा बाधा पुऱ्याएको उत्तर सिक्किम पर्यटन चालक सङ्गठन (एनएसटीटीए)-का महासचिव राजकुमार दर्जीले बताएका छन्।
आज दिउँसो फसेका वाहनहरूलाई निकाल्न एनएसटीडीएका सहसचिव चन्द्रमणी दर्जीलगायत अन्य सदस्यहरू मियुङ्छु पुगेर सहयोग गरेका थिए। गान्तोकबाट 78.5 किलोमिटर टाडोमा रहेको उत्तर सिक्किम हाइवेको यस स्थानमा खोला बडेपछि मगनबाट चुङ्थाङ जाने मार्ग ठप भएको हो। दिउँसो फसेका वाहनहरू निकाल्न र खोला तार्न टुङ नागाका युवाहरूले आफ्नो ज्यानको पर्वाह नगरि डोरी लगाएर फसेका वाहनहरू निकाल्न सहयोग गरेको सहसचिव चन्द्रमणी दर्जीले जानकारी दिए। उनले स्थानीय युवाहरूको सहयोगप्रति एनएसटीडीए आभारी रहेको बताए। उल्लेखनीय छ, मुसलधारे पानीले गर्दा सडक सम्पर्क सितै गाउँमा पैह्रो पनि चलेको छ। जसमा हिजो आइतबारको दिन लिङ्चुङ गाउँमा दुईवटा घर पुर्नका साथै एक महिलाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।