Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुख्यमन्त्री भट्टले पाए विश्वासको मत, यही विश्वासकै जगमा अगाडि बढ्छु  मुख्यमन्त्री भट्ट


 

   

  सुदूरपश्चिम / धनगढी

Insert your Ads code here

सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो । उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए ।

  

सुदूरपश्चिम प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् ।

कुल ५२ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १२ जना तटस्थ बसेका थिए । नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे । नेकपा एमालेको प्रदेशसभा संसदीय दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

तर एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले भने मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलको नेता र सचेतकलाई आग्रह गरेको थियो । एमाले ओली पक्षका सांसदहरु पठानसिंह बाेहरा, नेपालु चाैधरी, लिलाधर भट्ट, माया तामाङ, ग्याल्बु बाेहरा, रतन थापा, बलदेव रेग्मीले विपक्षमा मतदान गरे ।

मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ । प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै काँग्रेसका १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

मुख्यमन्त्रीलाई माओवादी सहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । मुख्यमन्त्रीको पक्षमा विश्वासको मत पुग्ने भएपछि काँग्रेस मतविभाजन प्रक्रियामा सहभागी नभएको हो । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

कसका कति सांसद

प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ७ जनामात्र ओली पक्षका छन् । यस्तै प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।

एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ । एमालेको केन्द्र सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने नीतिमा भएपनि सुदूरपश्चिममा माधव नेपाल पक्षको बाहुल्य भएकाले केन्द्रको निर्णय उलङ्घन भएको हो । एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै विश्वासको मत दिने निर्णय गरेको थियाे ।

मुख्यमन्त्रीकाे प्रतिबद्धता

मुख्यमन्त्री भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् । विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताए ।

संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने उनले बताए । प्रदेशसभाको कार्यकाल करिब डेढ वर्ष अझै रहेको प्रस्ट पार्दै उनले यो अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको परिणामहरू धमाधम आउने दावी गरे ।

‘हामीले विगतमा के के काम गरेका छौं भन्नेबारे अब बल्ल परिणाम आउन थाल्छ,’ उनले भने, ‘यो अवधिमा हामीले संघीयताको जग बसाल्यौं, कतिपय कुरा संस्थागत गर्न, कानुन निर्माण गर्न समय खर्चियौं, अब ती कुराहरुमा अल्झिनुपर्ने छैन ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!