Loading... आजः शनिबार , श्रावण १२, २०८१

मुस्ताङी आलु हारालुछ


मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताउनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। आफूले यो वर्ष २० मुरी आलु फलाएको उहाँले सुनाउनुभयो। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उहाँको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उहाँ उत्साहित बन्नुभएको छ।
जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ। थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाउनुभयो। आफूले ३० मुरी उत्पादन गरेको उहाँले सुनाउनुभयो। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उहाँको भनाइ छ।

मुलुक संघीयतामा जानुअघि कृषिउपजको तथ्यांक साबिक जिल्ला कृषि विकास कार्यालयले राख्थ्यो। अहिले स्थानीय तहको कृषि शाखाले जिम्मा पाए पनि यससम्बन्धी अभिलेख राखेको पाइएको छैन। मुस्ताङको अन्न भण्डारका रूपमा चिनिएको थासाङको कुञ्जो आलु उत्पादनमा प्रसिद्ध छ। तर, त्यहाँ पुग्न कालीगण्डकी नदीमा पुल नहुँदा उत्पादनको बजारीकणमा समस्या हुँदै आएको छ। ढुवानी कम लाग्ने स्थानमा मात्र व्यापारीको आँखा लाग्ने भएकाले सडक जोडिएको गाउँमा मात्र पुग्ने गरेको पाइएको छ।

कोरोना कहरका कारण मुस्ताङको पर्यटनमा धक्का लागे पनि कृषि क्षेत्र भने त्यति प्रभावित छैन। आफूले उत्पादन गरेको कृषिउपजको सहज बिक्री नहोला कि भन्ने चिन्ता अहिले गलत सावित भएको छ। ७७ वटै जिल्लामा आलु खेती हुने भए पनि हिमाली जिल्लाको उत्पादनको बेग्लै क्रेज छ। यहाँको आलु तरकारी पकाएर वा उसिनेर टिमुरको छोपसँग खाने चलन छ। तल्लो मुस्ताङबाट उत्तरी कोरला नाकासम्मका गाउँमा आलु उत्पादन हुन्छ। यहाँका किसान मंसिरदेखि फागुन मसान्तसम्म आलु रोप्छन्। भदौ र असोजमा आलु खनिन्छ। हिमपातको चिस्यानले रोग र किटाणु नष्ट गर्ने र भेडा—च्यांग्रा र गोरु—झोपाको मल प्रयोग गरिने भएकाले मुस्ताङको आलु अग्र्यानिक ब्रान्ड बनेको छ। मुस्ताङमा स्याउ, उवा, जौ, फापरजस्तै आलु खेती यहाँका रैथाने बालीका रूपमा परिचित छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!