वर्षैपिच्छे संकलन गरिँदै आएको यार्सागुम्बा सङ्कलनमा यस वर्ष रुकुम (पूर्व) मा रोक लगाइएको छ। यार्सा सङ्कलन गरिने ठाउँमा मानिसको भीड हुने भएकाले यस वर्ष यार्सा संकलनमा रोक लगाउनुपरेको पुथाउत्तरगङ्गा गाउँपालिकाले जनाएको छ। भीडभाडमा कोरोना संक्रमणको जोखिम उच्च हुने कारण यार्सा संकलनमा रोक लगाइएको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो।
जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सा सङ्कलन यस वर्ष रोक्नका लागि दलीय संयन्त्र समितिले गाउँकार्यपालिकालाई यसअघि नै प्रस्ताव पेश गरेको थियो। गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा यार्सा पाइन्छ।
विगत वर्षमा यार्सा व्यवस्थापन समितिले यार्सा संकलनका लागि जेठ पहिलो साता खुला गर्थ्यो। गाउँपालिका १, २ र ३ को पानीढल, फूलबारी अरविजा, जंगला, पूपाल, पूर्वाङ, भित्रीवन, उङ्ला, निम्कुलगायत ठाउँमा यार्सागुम्बा पाइने गरेको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो।
Insert your Ads code here
यस क्षेत्रका सर्वसाधारणको आम्दानीको मुख्य स्रोत यार्सागुम्बाबाट एक याममा स्थानीयवासीले वर्षभरिको आवश्यक घर खर्च, पढाइलगायतका लागि आम्दानी गर्छन्।
सङ्कलन याममा एक महिनासम्म बुकीमै बिताउने उनीहरूले प्रतिपरिवार यार्सा टिपेरै न्यूनतम ३० हजारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्।