राजा ज्ञानेन्द्र शाह पछिल्लो समय ट्विटर मार्फत सक्रिय
फाइल तस्बिर
राजा ज्ञानेन्द्र शाह पछिल्लो समय ट्विटर मार्फत सक्रिय देखिनु भएको छ। उहाँले राजनीतिक र समसामयिक घटनाक्रमका बारेमा सिधै अाफ्ना विचार ब्यक्त गर्न लागेबाट राजनीतिक क्षेत्र तरङ्गित भएको छ। राजा ज्ञानेन्द्रले कोरोना महामारी नियन्त्रणको अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब काटिएको प्रति ट्विटर मार्फत असन्तुष्टि ब्यक्त गर्नुभएको छ।
राजा ज्ञानेन्द्र शाहले ट्वीट गर्दै संकटको यस घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्न नहुने बताउनुभएको हो। यस्ता कार्यबाट उनीहरुलाई कर्तव्य पथमा बिचलित पार्ने उल्लेख गर्नुभएको छ। राजा ज्ञानेन्द्र शाहले राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुने उल्लेख गर्नुभएको छ।
उहाँले भन्नुभएको छ: ‘संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पारोस्। राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ।’
कतिपय स्थानीय तहले चिकित्सकको दश दिनको तलब कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्। यसको चिकित्सकहरुले विरोध गरेका छन्। त्यस्तै प्रहरी प्रधान कार्यालय, नक्सालले सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको तीनदेखि सात दिनसम्मको तलब कट्टा गर्ने निर्णय गरेको छ।
कोरोना रोकथामका लागि लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त भत्ताको घोषणा गरेका बेला प्रहरी प्रधान कार्यालयले तलब कट्टा गर्ने निर्णय गरेको हो ।
तपाइँकाे प्रतिक्रिया
