Loading... आजः शनिबार , श्रावण १२, २०८१

राज्यका नागरिकहरूले भटाभट ज्यान गुमाउनपरेको एसकेएम सरकारको निष्क्रियता, लापरवाही र अस्पष्ट क्रियाकलापका कारणले होः एसडीएफ


गान्तोक, 19 अगस्त। सिक्किमको विपक्षी दल एसडीएफले एसकेएम सरकारमा स्वास्थ्य सेवाको खस्किन्दो अवस्थामा रहेको बताउँदै कडा प्रतिक्रिया गरेको छ। एसडीएफ उपाध्यक्ष डम्बर दाहालले एउटा प्रेस बयान जारी गर्दै भनेका छन्, वर्तमान समयमा कोभिड-१९ -को महामारीले दिइरहेको सन्त्राससँगै राज्यवासीलाई अन्य रोगहरूको उपचार गराउन समस्या झेल्नु परिरहेको थप आपद् आइलागेको छ। यस आपद्लाई गम्भीर रूपमा लिएर समाधानतर्फ लान नितान्त आवश्यक रहेको एसडीएफ पार्टीको अड़ान छ। उनले अझ भनेका छन्, राज्यवासीको सम्पूर्ण स्वास्थ्य उपचारका निम्ति पहल गर्ने पहिलो दायित्व भनेको राज्य सरकार अनि स्वास्थ्य विभागको हो। तथापि, प्रेम सिंह तामाङको नेतृत्वमा रहेको वर्तमान सरकार आफ्नो दायित्व निर्वाह गर्न विफल रहेको राज्यमा घटिरहेका अनेकौं दुःखद घटनाले पुष्टि गरेको एसडीएफ पार्टी ठहर गर्दछ।
यसैगरि मणिपाल अस्पतालमा आफ्नो उपचारको निम्ति पर्खिँदै पर्खिँदै ज्यानबाट हात धुनुपरेको एक 47 वर्षीय व्यक्तिको दुःखद घटनालाई ध्यान आकर्षित गराउँदै उपध्यक्ष दाहालले भनेका छन्, आज नाम्ची जिल्ला अस्पतालबाट रेफर गरिएको दक्षिण सिक्किमको तुरूक निवासी जगतबहादुर छेत्री मणिपाल अस्पतालभित्र दुइ घण्टा पर्खिंदासमेत प्रवेश गराउन नपाई प्राण गुमाउनु परेको अमानवीय, संवेदनाहीन र गैर-जिम्मेवारीपूर्ण घटना राजधानीमा घटेको छ। उनले अझ भनेका छन्, मानव जीवन अमूल्य जीवन हो। मानव जीवनमा सास छाउञ्जेल आश भन्ने हुन्छ भन्ने धारणा हामीसँग छ। तर मणिपालको यस घटनामा स्वर्गीय जगत छेत्रीले उपचारको प्रक्रियासम्म प्राप्त गर्नसकेनन्। उनका छोरीहरूले बारम्बार निवेदन गर्दासमेत मणिपालले उचित समयमा एडमिट गरेर उपचार शुरू गरिदिएन मात्र होइन, उनलाई अस्पतालभित्र पस्नसमेत दिइएन। उपचार नपाईँ उनको देहान्त अस्पतालको प्रङ्गणमा भयो। यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो।
उऩले अझ भनेका छन्, यसरी नै मणिपाल अस्पातलको लापरवाहीका कारण पानीहाउस निवासी श्रीमती सरिता खातीले पनि आफ्नी बहिनीको ज्यान गुमाएको अनि भानुग्राम (डीपीएच,गान्तोक) निवासी सुवास बाघदास अर्का विरामीले पनि उचित उपचार नपाई मृत्यु भएको घटना मृतकका परिवार सदस्यहरूबाट सोशल मीडियामार्फत आएको थियो। हप्तादिनको अन्तरालमा मणिपाल अस्पतालको लापरवाही र ढीला-सुस्तीपनले गर्दा तीन नागिरकले अमूल्य जीवन गुमाउनु परेको सत्यता हाम्रो सामु छ भनी दाबी गरेका छन्।
उनले भनेका छन्, यस प्रकारको दुर्भाग्यपूर्ण घटना राज्य सरकारको निष्क्रियता तथा कमजोरी र अस्पष्ट निर्णयको कारणले भएको हो। मणिपाललाई राज्य सरकारले नन्‌-कोभिड अस्पताल भनेर घोषणा गरे पनि त्यस घोषणा र निर्णयमा कुनै प्रकारको स्पष्टता अनि स्थिरता छैन। घोषणा गरिसकेपछि मणिपालमा हाम्रा नागरिकहरूलाई अन्य रोगहरूको उपचार गराउनका निम्ति हर प्रकारको सुख-सुविधा उपलब्ध गरिएको हुनुपर्छ। तर आजसम्म कुनै सुविधा उपलब्ध छैन भन्ने कुरा नाम्ची जिल्ला अस्पतालबाट पठाएको विरामीले मणिपाल अस्पतालमा पस्न नपाई ज्यान गुमाउनु परेको दुर्भाग्यपूर्ण घटनाले छर्लङ पार्दछ भनी ठोकुवा गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, अझ स्पष्टसँग भन्नुपर्दा एसकेएम सरकार आफै कोभिड र नन् कोभिड अस्पताल छुट्याउन असफल छ। तीन महिनाअघि नै यो छुट्याउनु अनिवार्य थियो। तर सरकारले अहिलेसम्म यसलाई स्पष्ट गरेर स्थापना गराउन नसक्नुको कारणले राज्यका नागरिकले ज्यान गुमाउनुपर्दैछ। सरकारले फेक्ट फाइण्डिङ कमिटी गठन केवल मृत्युलाई ढाकछोप गर्नका लागि मात्र गरेको हो। स्वास्थ्य मन्त्री डा. एम.के. शर्माले अस्पताल प्रशासनसँग भेटघाट नै गरे पनि नतिजा समाधानकारी र फलदायक नरहेको अनि मणिपाल अस्पतालमा राज्यका नागरिकहरूले भटाभट ज्यान गुमाउनपरेको एसकेएम सरकारको निष्क्रियता, लापरवाही र अस्पष्ट क्रियाकलापका कारणले हो भन्ने अड़ान एसडीएफ पार्टीको रहेको छ उनले दाबी गरेका छन्। उनले अझ भनेका छन्, राज्यवासीको स्वास्थ्य उपचारको निम्ति राज्य सरकारले जिम्मेवारीपूर्ण कदम उठाउँदै कोभिड र नन्‌-कोभिड अस्पताल स्पष्ट रूपमा छुट्याएर नन्‌-कोभिड अस्पतालमा सबै प्रकारका सुविधाहरू उपलब्ध गराउनुपर्छ भन्ने माग पनि एसडीएफ पार्टी राख्दछ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!