दार्जिलिङ,१९ अप्रेल। भारतमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति संघर्षरत विमल गुरूङको नेतृत्वमा रहेको गोर्खा जनमुक्ति नारी मोर्चाको संयोजक श्रीमती उर्मिला रुम्बाद्वारा पश्चिम बङ्गालको मुख्यमन्त्री सुश्री ममता व्यानर्जीलाई चियाबारी श्रमिकहरु विषय लिएर पत्रचार गरिएको छ।
दार्जीलिङ पहाडको प्रायः सबै चियाबारीहरुमा पुरुष भन्दा धेरै महिला श्रमिकहरु भएको कारणले गर्दा यहाँका महिलाहरु “कोभिड १९” संक्रमणको सम्मुखिन हुनसक्ने आशंका छ। यस विषयमा सरकार पक्षबाट झट्ट भन्दा झट्ट कुनै पदक्षेप लिन भनी आग्रह गरिएको छ। यहाँको महिला श्रमिकहरुले चियाबारीको काममा जाँदा आफ्नो साना साना नानीहरुलाई पनि सँगै लाने भएको कारणले स्थिति अझ गम्भीर बन्न पुगेको उक्त पत्रमा उल्लेख छ।
चियाबारी मालिक पक्षले स्वास्थ्य सम्बन्धी निर्धारित कुनै उचित दिशा निर्देश र मानदण्ड पालन गरेको छैन जसले गर्दा चियाबारी श्रमिकहरुको ज्यान जोखिममा पर्न गएको श्रीमती उर्मिला रुम्बाको भनाई रहेको छ। अहिले प्रत्येक चियाबारीमा “फर्स्ट फ्लस” को टिपाई चलिरहेको छ – चियाबारीको श्रमिकहरुको यत्रो योगदान हुँदा हुँदै पनि मालिकपक्षले उनीहरूको स्वास्थ्यमा लापरवाही गरेर चाहिने आवश्यक सामग्री जस्तै स्यानीटाईजर, पञ्जा तथा मास्कको बन्दोबस्त मिलाउन नसक्नु मालिकपक्षको कमजोरी रहेको जानकारी दिँदै यस विषयमा सरकारले हस्तक्षेप गरेर झट्ट समस्याको समाधान गर्नु पर्ने श्रीमती रुम्बाले पत्र मार्फत जनाएकी छिन्।