रात्रिकालीन सम्पदा–यात्रा अब काठमाडौंका तीनै जिल्लामा सुरु हुने
लामो समयदेखि चर्चामा रहेको रात्रिकालीन सम्पदा–यात्रा अब उपत्यकाका तीनै जिल्लामा सुरु हुने भएको छ। कोरोना साम्य भएपछि राजधानी उपत्यकाका तीनै सहरमा सम्पदा–यात्रा सञ्चालन गर्ने गरी नेपाल पर्यटन बोर्डले तयारी अघि बढाएको हो । ‘रात्रिकालीन सम्पदा–यात्रामा उपत्यकावासी आफूलाई मनपर्ने सम्पदामा परिवारसहित घुम्न जानेछन् । बाटामा रैथाने खान्कीका स्टल हुन्छन्,’ बोर्डका सीईओ धनञ्जय रेग्मीले भन्नुभयो, ‘कम्तीमा राति १२ बजेसम्म घुमघाम गर्न पाइनेछ।’ बोर्डका अनुसार रात्रिकालीन यात्रा भक्तपुरमा सुरु पनि भइसकेको छ।
बोर्डले कोरोना नियन्त्रणपछि आउने सहज परिस्थितिमा दैनिक ५ लाख आन्तरिक पर्यटकलाई चलायमान् बनाउन कार्ययोजना अघि सारेको छ। आन्तरिक पर्यटन चलायमान् भएपछि आर्थिक गतिविधि बढ्ने, निजी क्षेत्र फस्टाउने तथा कोरोनाका कारण महिनौंदेखि घरभित्रै बसिरहेका उपत्यकावासीलाई मानसिक तथा शारीरिक रूपमा स्फूर्ति पनि मिल्ने रेग्मीले बताउनुभयो।
कान्तिपुर अनलाइनका अनुसार चालू वर्ष बीबीसी र सीएनएनबाट नेपालका पर्यटकीय क्षेत्रको प्रचार गरिनेछ। यस कार्यका लागि साढे २ करोड बजेट पनि विनियोजन गरिसकेको बोर्डले बीबीसी र सीएनएनका विज्ञापनसम्बन्धी प्रतिनिधिलाई भेट गरी विस्तृत विवरण माग गरिसकिएको जनाएको छ। हालको सार्वजनिक खरिद ऐनमा यसबारे केही बुँदा संशोधन गर्नुपर्ने भएकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखिपठाइएको पनि बोर्डले जनायो ।
बोर्डले चीनको पर्यटन बजारमा सर्वाधिक रुचाइने ‘सिट्रिप’मा पनि नेपालको प्रर्वद्धन गर्ने भएको छ। चीनका वायुसेवा, होटल, ट्राभललगायत कम्पनीको एकीकृत साइटमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदाको सामग्री पनि देखाइनेछ। बोर्डले उक्त भिडियो चिनियाँ दूतावासलाई दिइसकेको छ।
नेपालमा पछिल्ला वर्ष चिनियाँ पर्यटक भारतकै हाराहारी तर दोस्रो स्थानमा छन्। बोर्डले भारतीय पर्यटकलाई आकर्षित गर्न भारतीय सञ्चारमाध्यमबाट पनि प्रचार गर्ने कार्यक्रम बजेटमै ल्याइसकेको छ। बोर्डको वेबपेजलाई चिनियाँ, रसियन, अंग्रेजी, स्पेनिस, फ्रेन्च र जर्मन भाषामा समेत रूपान्तरण गरिएको छ। यी छवटा मुलुकका पर्यटकलाई नेपालबारे बुझ्न र भम्रण गर्न सहज होस् भनेर वेबपेज रूपान्तरण गरिएको हो ।
यसैबीच सरकारले लकडाउन गरेपछि देशभरका विभिन्न पर्यटकीय गन्तव्यमा गएका १ हजार ७ सय २१ पर्यटकको उद्धार गरिएको थियो । बोर्डले सम्बन्धित दूतावास, स्थानीय तह र निजी क्षेत्रको पनि सहयोग लिई आठ दिन लामो उद्धार अभियान सञ्चालन गरिएको जनाएको छ।
त्यस्तै लकडाउनमा अधिकांश सरकारी निकाय बन्द र निजी क्षेत्र तहसनहस भएका बेला बोर्डले पर्यटन क्षेत्रमा पर्न सक्ने प्रभाव र राहतका लागि सर्वेक्षण गरेको थियो ।
तपाइँकाे प्रतिक्रिया
