राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोणहरू संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पनि सान्दर्भिक भएको बताउनुभएको छ। नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा शाहप्रति श्रद्धासुमन व्यक्त गर्दै उहाँले यस्तो उल्लेख गर्नुभएको हो।
राष्ट्रपति भण्डारीले सन्देशमा ऐतिहासिक यस दिनमा राष्ट्रिय एकतालाई थप सुदृढ पार्दै सदाचार र सुशासनलाई अझ बलियो बनाएर समृद्ध, स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा सम्बद्ध सबै पक्ष परिचालित हुनुपर्ने उल्लेख गर्नुभएको छ।
शुभकामना सन्देशमा भण्डारीले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रिय एकता दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। ‘नेपाल प्राचीनकालदेखि नै स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा रहिरहन हाम्रा पूर्वजहरूको वीरता, कार्यकुशलता र बुद्धिमत्तापूर्ण भूमिका रहेको छ।’ शुभकामना सन्देशमा भनिएको छ,’छरिएर रहेका अनेकौँ राज्यहरूलाई एकीकृत गरी सुदृढ नेपाल निर्माण गर्नुपर्ने अपरिहार्य आवश्यकता बोध गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु गरिएको एकीकरण अभियान अन्ततः सफल भयो।’
उहाँले नेपाली समाज साँस्कृतिक विविधताबीच समन्वयको बलियो सूत्रमा एकताबद्ध भएको कुरा आत्मसात गर्दै यहाँको अमूल्य सभ्यता, संस्कृति र सम्पदालाई पृथ्वीनारायण शाहले सम्मान गरेको स्मरण गर्नुभयो। जारी सन्देशमा उल्लेख छ ‘नेपाल सबै जातको साझा फूलबारी भएको कुरा स्वीकार गर्दै जनताबीच भावनात्मक एकीकरण गर्नुपर्ने कुरामा उहाँ सजग हुनुहुन्थ्यो भन्ने कुरा उहाँका सन्देश र व्यवहारबाट स्पष्ट हुन्छ।’