Loading... आजः शनिबार , श्रावण १२, २०८१

राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउन नेकपा सचिवालय बैठक ४बजे बस्दै


सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहीबार दिउँसो ४ बजेका लागि डाकिएको सचिवालय बैठकमा रिक्त सभामुखको पद र राष्ट्रियसभा उम्मेदवार चयनबारे छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।

बलात्कारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उक्त पद खाली छ।

सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद छ। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटकपटक छलफल भए पनि सभामुख कसलाई बनाउने भन्ने अहिलेसम्म सहमति हुन सकेको छैन।

Insert your Ads code here

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको तालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन आगामी माघ ९ गते हुने भएको छ। कांग्रेसका ७ सहित १९ सांसदको कार्यकाल फागुनमा सकिँदै छ। पदावधि सकिन लागेका सांसदमा नेकपाका ८, राजपाका २, समाजवादीका १ र राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) एकजना छन्।

सात सय ५३ स्थानीय तहका प्रमुख-उपप्रमुख गरी १ हजार ५ सय ६ जना र प्रदेशसभाका ५ सय ५० जना सांसद राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। स्थानीय तह र प्रदेशसभाका सांसदले दिने मतभार भने फरक हुन्छ। स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभाका सांसदको मतभार ४८ निर्धारण गरिएको छ। दुवै तहको मतभार जोड्दा ५३ हजार ५ सय ८ हुन्छ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले सांसद निर्वाचित हुने व्यवस्था छ। ३ जना भने मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन्। स्थायी सदन राष्ट्रियसभाका लागि पहिलोपटक गोला हालेर २, ४ र ६ वर्षे कार्यकाल निर्धारण गरिएको थियो। एक तिहाइ सांसदको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। अब निर्वाचित हुनेको कार्यकाल भने ६ वर्षकै हुनेछ।

क-कसको सकिँदैछ कार्यकाल

२ वर्षे कार्यकाल समाप्त हुन लागेकामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक सरिता प्रसाई, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा छन्।

सत्तासीन नेकपाका ८ जना सांसदको कार्यकाल सकिन लागेको हो। नेकपाका बलराम बास्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल पनि सकिन लागेको हो।

यस्तै राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रीत पासवानको पनि २ वर्षको कार्यकाल सकिन लागेको हो। ९ माघमा नयाँ सांसद चुनिए पनि पुरानाको कार्यकाल भने फागुन २० सम्म रहनेछ। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअघि निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!