गान्तोक, 15 फरवरी। सिक्किमको राजधानी गान्तोकको एउटा सङ्गित शिक्षाको स्थापित संस्था रियाज सङ्गितालयको वार्षिक साङ्गितिक कार्यक्रम पानी सम्पन्न भयो। पर्यावरण सुरक्षाको विशेष महत्व रहेको जल संरक्षणलाई पानी बचाओ जीवन बचाओको नारा दिएर आयोजन गरिएको वार्षिक साङ्गितिक कार्यक्रममा रियाज सङ्गितालयका प्रशिक्षणरत सङ्गितका विद्यार्थीहरूले आ-आफ्नो प्रतिभा प्रदर्शन गर्ने मञ्च पाएका थिए जसमा शास्त्रीय सङ्गीत, बलिहूड कोयर, गोस्पल कोयर, वाद्यवादन, सितै सङ्गीतको विभिन्न प्रतिभालाई दर्शाउने मञ्चको रूपमा कार्यक्रम आयोजन भएको थियो। मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकाल मुख्य अतिथिको रूपमा रहेका थिए भने राज्य सूचना आयुक्त सीपी ढकाल र वरिष्ठ कालाकार किरण रसायली विशिष्ठ अतिथिको रूपमा उपस्थित थिए।
सङ्गीत संस्थाका संस्थापक मनोज राईले यस पल्टको वार्षिक कार्यक्रममा जल संरक्षणलाई विशेष महत्व दिएर जागरुकताको रूपमा पनि काम गरिएको अनि यसको निम्ति राज्यको सम्बन्धित निकायहरूले पनि सहयोग गरेको बताए। उनले यसरी वार्षिकरूपमा संस्थानले गर्ने कार्यक्रम प्रशिक्षणरत सङ्गीतका विद्यार्थीहरूलाई मञ्च प्रदान गर्नका साथै उनीहरूको प्रतिभालाई प्रदर्शन गर्नु रहेको बताए। राजधानीका विशिष्ठ व्यक्तिहरूसमेत बाक्लो सङ्ख्यामा सङ्गीत प्रेमी युवा तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। अतिथिहरूको बाहुलिबाट कार्यक्रमका प्रायोजकहरूलाई सम्मान तथा स्मृति चिन्ह प्रदान गरियो भने सहभागी विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।