Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउनपछि नेपालबाट २७ सय विदेशी स्वदेश फर्किए


कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन्।

आफ्ना नागरिक लानेमा अधिकांश युरोपेली मुलुक छन्। खाडी मुलुकले भने आफ्ना नागरिकलाई फर्काएका छैनन्। अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीका अनुसार लकडाउन गरेको दिनबाट आइतबारसम्म करिब २७ सय विदेशी नागरिक चार्टर्ड वा अन्य विमानबाट बाहिरिएका कान्तिपुर अनलाइनले लेखेको छ। नेपालले चैत ११ बाट मुलुकभर लकडाउनको घोषणा गरेको थियो। त्यसलगत्तै नेपाल घुम्न वा अन्य कामले आएका विदेशी आ–आफ्नो घर फर्कन चाहेका थिए। त्यसपछि ती विदेशीलाई सम्बन्धित मुलुकका नेपालस्थित दूतावास र सम्बन्धित मुलुकसँग सम्पर्क गरेर फिर्ता पठाउने व्यवस्था मिलाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताउनुभयो।

आफ्ना नागरिक फिर्ता लग्ने मुलुकमा अमेरिका, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेलायत, मलेसिया, सिंगापुर, अस्ट्रेलियालगायत छन्। ‘युरोपेली युनियनभित्र रहेका मुलुकका नागरिक भने सबै एउटै विमानमा गएका थिए,’ महानिर्देशक केसीले भन्नुभयो। कुनै मुलुकले आफैं विमान लिएर आएका थिए भने कसैले अन्य मुलुकको विमान प्रयोग गरेर आफ्ना नागरिक लगेका थिए। अस्ट्रेलियाली नागरिकलाई भने नेपाल वायु सेवा निगमको जहाजले पुर्‍याइदिएको थियो।

Insert your Ads code here

नेपालस्थित विदेशी दूतावासहरूले नेपाल सरकारसँगको सहकार्यमा आफ्ना नागरिकलाई काठमाडौं ल्याएर स्वदेश पठाएका हुन्। परराष्ट्र प्रवक्ता पौड्यालका अनुसार विदेशी दूतावासबाट आफ्ना नागरिकका बारेमा जानकारी आएपछि तिनको खोजी गरिएको थियो। ‘कोही ट्रेकिङ गएका थिए, कोही कतै घुम्न गएका थिए, सबैभन्दा पहिला त विदेशी नागरिक कहाँ छन् भन्ने ट्रेसिङ गरेर पत्ता लगायौं। त्यसपछि एउटा फोकल बिन्दु जम्मा गर्‍यौं,’ उहाँले भन्नुभयो, ‘पर्यटन मन्त्रालयसँग सहकार्य गरेर काठमाडौं ल्याएपछि उनीहरूलाई आ–आफ्नो मुलुकमा पठाउने काम भयो।’

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!