Loading... आजः शनिबार , श्रावण १२, २०८१

लकडाउन र निषेधाज्ञाबीच नेपाली सेनाको इतिहास संरक्षण अभियान जारी


कोरोना भाइरसको महामारीका कारण गरिएको लकडाउन र निषेधाज्ञाबीच नेपाली सेनाले इतिहास संरक्षण अभियान चलाइरहेको छ। नेपाल एकीकरणका बेला प्रयोग भएका बाटो र गढी–किल्लाहरुको संरक्षणका लागि सेनाले एकीकरण मार्ग कार्यक्रम सञ्चालन गरेको हो। सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार गोरखा–धादिङ–नुवाकोट–काभ्रे–काठमाडौं ‘एकीकरण पदमार्ग’को सम्भाव्यता अध्ययन सकिएको छ। यसका लागि सेनाले इतिहासका प्राध्यापक दिनेशराज पन्तलाई समेत संलग्न गराएर लकडाउनअघि नै स्थलगत अध्ययन गरेको थियो।

अध्ययन टोलीको प्रतिवेदनले दुईवटा पदमार्गको खाका प्रस्तुत गरेको सहायक रथी पौडेल बताउनुहुन्छ। उहाँका अनुसार, पहिलो पदमार्ग गोरखाबाट सुरु भएर धादिङ, नुवाकोट हुँदै काठमाडौंबाट काभ्रे पुग्छ। यो पदमार्ग १९६.५ किलोमिटरको हुनेछ। दोस्रोचाहिँ गोरखा, नुवाकोट, धादिङबाट काठमाडौंसम्म १२८.५ किलोमिटरको छ।

अनलाइनखबरका अनुसार प्रतिवेदनमा नेपाल एकीकरणको पृष्ठभूमि र तथ्य विश्लेषण, वर्तमान अवस्था, स्थानीयवासीका भनाइ, पदमार्ग संरक्षण र सम्बर्द्धनका लागि तत्काल गर्नुपर्ने कार्य तथा चनौतिहरुसमेत विश्लेषण गरिएको प्रवक्ता पौडेलले बताउनुभयो।

Insert your Ads code here

यसैबीच कोरोना महामारीका कारण काममा केही ढिलाइ भए पनि हालसम्म कार्यक्रम अन्तरगतका चारवटा आयोजना सेनाले सम्पन्न गरेको छ।

गोरखा–काठमाडौं एकीकरण पदमार्ग सम्भाव्यता अध्ययन सकिएको छ भने सिन्धुलीगढी विकास बृहत् गुरुयोजनाको प्रोफाइल तयार भएको छ।

पाल्पा दरबार संग्रहालयमा ऐतिहासिक शस्त्रअस्त्र कक्ष तयार भएको र काभ्रेमा पृथ्वीगढी भ्यू प्वाइन्ट निर्माण जारी रहेको सैनिक प्रवक्ता सहायक रथी पौडेलले बताए। ‘सिन्धुलीगढीमा संग्रहालय र बारामा एकता वाटिका निर्माणाधीन छन्’, उनले भने, ‘नेपाल एकीकरणको इतिहास सम्बन्धी पुस्तक गत फागुनमा विमोचन भइसकेको छ।’

सिन्धुलीगढीमा निर्माणाधीन युद्ध संग्राहलयको काम ४५ प्रतिशत सकिएको छ। सेनाले नेपालका गढी, किल्ला र युद्धस्थलहरुको परिचयात्मक पुस्तकहरु पनि तयार गरेको छ। नेपाली सेनाले ऐतिहासिक एवं पुरातात्विक महत्वका वस्तु, सम्पदा, स्थल एवं दस्तावेजहरुको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गरेको प्रवक्ता पौडेलले बताउनुभयो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले जारी गरेको ‘प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन–२०७५’ को लक्ष्य नं. ६ मा नेपाल, नेपाली र नेपाली सेनाको इतिहास प्रबर्द्धन गर्ने विषय उल्लेख छ।

यसैगरी नेपाली सेनाले सिन्धुलीगढी विकासको गुरुयोजना बनाउने कार्यको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो। जसअनुसार गत ११–१५ चैतसम्म कमलामाई नगरपालिका, बर्दबहादुर गण र आर्किटेक्निक स्टुडियोबीच समन्वय गरेर प्रारम्भिक सर्भे गरिएको थियो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!