Loading... आजः शनिबार , श्रावण १२, २०८१

लक डाउनले आयात घटेपछि नेपालमा विदेशी मुद्रा सञ्चिति


लकडाउनका समयमा आयात घटेपछि मुलुकको कुल विदेशी मुद्रा सञ्चिति १० अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ । यो गत जेठ तेस्रो सातासम्मको तथ्यांक हो । त्यसपछि पनि रेमिट्यान्स, विदेशी सहायता, सरकारी ऋण आएकाले विदेशी मुद्राको सञ्चिति झनै बढेको राष्ट्र बैंक स्रोतले बताएको छ । अहिलेको विदेशी मुद्रा विनिमय सञ्चिति विगत तीन वर्षयताकै उच्च हो । यसअघि ०७४ असारमा यस्तो सञ्चिति १० अर्ब ७६ करोड अमेरिकी डलर थियो ।

विदेशी विनिमय सञ्चितिको वास्तविक अवस्था पत्ता लगाउन डलरमै घटबढ हेर्नुपर्छ। किनकि अमेरिकी डलरको विनिमय दरमा आएको घटबढअनुसार रुपैयाँमा पनि घटबढ हुन्छ । यसकारण वास्तविक विदेशी मुद्राको सञ्चिति बढ्न डलरमै बढ्नुपर्छ। अहिले डलरमै विदेशी मुद्रा सञ्चिति बढेको हो।

गत आर्थिक वर्षको वैशाखको तुलनामा यो आवको सोही अवधिमा आयात करिब ६४ प्रतिशत घटेको छ। आयात घटेपछि त्यसबापत विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने रकम पनि घटेकाले विदेशी विनिमय सञ्चिति बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो। गत वैशाखमा ४२ अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ।

कान्तिपुर अनलाइनका अनुसार गत वैशाखसम्म नेपालको विदेशी विनिमय सञ्चिति १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ छ। गत असारको तुलनामा यो करिब १९ प्रतिशतको वृद्धि हो। ०७६ असारमा ९ अर्ब ५० करोड रहेको सञ्चिति गत वैशाखमा १० अर्ब २५ करोड पुगेको थियो।

Insert your Ads code here

वैशाखको विदेशी विनिमय सञ्चितिले मुलुकका लागि १०.८ महिनालाई पुग्ने वस्तु तथा सेवा आयात गर्न पर्याप्त हुने राष्ट्र बैंकले दाबी गरेको छ। गत असारको तुलनामा चैतसम्म डलरमा विदेशी मुद्रा सञ्चिति घटे पनि नेपाली रुपैयाँमा बढेको थियो । त्यतिबेला अमेरिकी डलरको विनिमय दर उच्च भएकाले रुपैयाँमा विदेशी विनिमय सञ्चिति वृद्धि भएको थियो।

गत वैशाखमा नेपाल भित्रिने रेमिट्यान्स ६.१ प्रतिशत घटेको छ । गत वर्षको वैशाखको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स घटे पनि गत चैतको तुलनामा भने बढेको छ । यसको सकारात्मक प्रभाव विदेशी विनिमयमा परेको राष्ट्र बैंकले जनाएको छ । गत वैशाखमा ६ खर्ब ८० अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा यो साढे १९ प्रतिशतले बढेको थियो ।

केही वर्षयता रेमिट्यान्स उच्च अंकले घटेको यो पहिलो घटना हो। गत फागुनमा १.८ प्रतिशत बढेको रेमिट्यान्स चैतमा ४ प्रतिशत घटेको थियो। उच्च दरले रेमिट्यान्स घटे पनि जेठमा थप सुधार आउने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ। प्रक्षेपणअनुसार जेठमा ६२ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिनेछ। ०७५ जेठमा ७३.७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

नेपालमा चैत ११ देखि निरन्तर रूपमा लकडाउन छ। लकडाउनको अवधि चैत र वैशाख गरी दुई महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!