Loading... आजः शनिबार , श्रावण १२, २०८१

लिङ्गी-पायोङ माध्यामिक विद्यालयको एकल लोकनृत्य प्रतियोगिता सम्पन्न


गान्तोक, 22 अगस्तः लिङ्गी-पायोङ माध्यामिक विद्यालयको विद्यालय प्रबन्धन समितिले आयोजन गरेको परोक्ष एकल लोक नृत्य प्रतियोगिता शनिवार सम्पन्न भएको छ। यसको फाइनल चरणमा पुगेका प्रतियोगिहरूलाई फोसबुकको भोटमा 10 प्रतिशत र निर्णायकद्वारा प्रदान गरिएको अङ्कलाई 90 प्रतिशत आधार बनाएर नतिजा घोषित गरिएको छ। लगभग एक महिनाको अन्तरालमा सम्पन्न यो परोक्ष एकल लोक नृत्य प्रतियोगिता तुमिन लिङ्गी निर्वाचन क्षेत्रको विभिन्न स्थानका 142 जना विद्यार्थीले भाग लिएका थिए। तीन वर्गमा आयोजित प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता उत्साहजनक रहेको थियो।
प्रतियोगितामा नवौं देखि 12औं श्रेणी वर्गबाट साम्दोङ उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थी हेमा माले 81 अङ्क (फेसबुक भोट 5.7 र निर्णायक अङ्क 75.3) प्राप्त गरेर विजयी बनेकी छन्। यसरी नै साम्दोङ कलेजका विद्यार्थी भूमी गुरागाईं 70 अङ्क (फेसबुक 10, निर्णायक 60) प्राप्त गरेर दोस्रो स्थानमा आउन सफल रहे। सरकारी उच्चतर माध्यमिक विद्यालय लिङ्गीकी रिङ्छेन लेप्चा कुल 60.2 अङ्कसहित तेस्रो स्थानमा आउन सफल रहे।
यसरी नै छैटौं देखि आठौं श्रेणीको वर्गबाट माखा उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थी अनिसा घिमिरे 84.9 अङ्क (फेसबुक 10 र निर्णायक 74.9) प्राप्त गरेर पहिलो स्थान बनाउन सफल रहिन्। यही वर्गमा डिक्चु उच्चतर माध्यमिक विद्यालयकी विद्यार्थी अनिसा लिम्बू 70.8 अङ्क (फेसबुक 7.2 र निर्णायक 63.6) सहित दोस्रो स्थानमा आएकी छन्। यो वर्गबाट फलैंचेडाँडा निम्न माध्यमिक विद्यालयकी विद्यार्थी नितिशा थापा 64.5 अङ्क ( फेसबुक 9.3 र निर्णायक 55.2) प्राप्त गरेर तेस्रो बनेकी छन्।
सब जुनियर वर्ग (नर्सरी देखि पाँचौ श्रेणीसम्म) बाट आयुषी सञ्जेल विजेता बनेकी छन्। उनले फेसबुकबाट 8.3 र निर्णायकबाट 62.4 गरेर कुल 70.7 अङ्क प्राप्त गरेकी छन्। यसरी नै पूर्व सिक्किमको खेसेको डाइमोन्ट ईङ्ग्लिस् स्कूलकी विद्यार्थी आरुषी गौतम सब जुनियर वर्गमा दोस्रो बनिन्। उनले फेसबुकबाट 10 र निर्णायकबाट 60.6 गरेर कुल 70.6 अङ्क प्राप्त गरिन्। यो वर्गबाट दाउछेन लेप्चा तेस्रो स्थान बनाउन सफल रहे। उनले कुल 55.9 अङ्क प्राप्त गरेका छन्।
आयोजक समितिले सबै वर्गका चौथो स्थानमा आउने प्रतियोगीलाई पनि सान्तवना पुरस्कार दिने निर्णय गरेको छ। उनीहरूमा डिक्चुको मेरी किड्स ईङ्लिस स्कूलकी मेलियाना राई (सब जुनियर वर्ग), खेसेको डाइमण्ड ईङ्लिस स्कूलकी आराधना छेत्री (जुनियर वर्ग) र माखा उच्चतर माध्यमिक विद्यालकी प्रितीका राई सामेल छन्।
परोक्ष एकल लोक नृत्य प्रतियोगिता सबै विजयी विद्यार्थीहरूलाई आयोजक समितिले नगद राशि, प्रमाण पत्र र ट्रफी प्रदान गर्नेछ। यसका लागि कोभिडको समस्या समाधान भएपछि प्रशासनबाट आदेश लिएर समितिले कार्यक्रम आयोजना गरेर सबै विजयी विद्यार्थीलाई पुरस्कार वितरण गर्ने सोच राखेको छ। लामो समयसम्म पनि प्रत्यक्ष कार्यक्रम आयोजना गर्ने नमिलेको खण्डमा सबै विजयी विद्यार्थीको पुरस्कार र प्रमाणपत्र सम्बन्धित विद्यालयमा पठाइने आयोजक लिङ्गी-पायोङ माध्यमिक विद्यालयका प्रधानाध्यापक सूरज शर्माले जानकारी दिएका छन्।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!