लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का कुलप्रसाद केसी
बिहीबार, साउन २८, २०७८
बुटवल । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलाराम घर्तीका अनुसार संविधानको धारा १६८ को २ अनुसार केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
यस् अघिका मुख्यमन्त्री बनेका शंकर पोखरेलको राजीनामासँगै प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार ३ बजेसम्म सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार दलले दाबी पेश गरेका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गर्नुभएको थियो ।
माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले चार दलका समर्थनमा प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीपदको दाबी पेश गर्नुभएको थियो । उहाँ रोल्पा १ (क)बाट निर्वाचित हुनुभएको हो ।
को हुन् लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केसी ?
नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए । नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।
नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।
प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेर २०४८ देखि २०५० सम्म शिक्षण पेशामा आवद्ध उनी २०५० देखि ०५२ सम्म नेकपा (एकता केन्द्र)को रोल्पा इलाका सेक्रेटरी थिए । २०५५ सालमा माओवादीमा लागेका उनी एक वर्ष दाङ, सल्यान र प्युठानको संयुक्त सेक्रेटरी रहे ।
२०५६ मा पार्टीको भेरी–कर्णाली क्षेत्रीय ब्यूरो सदस्यमा बढुवा भएका उनी २०५७ मा जनमुक्ति सेनाको कम्पनी कमिसार र पार्टीको केन्द्रीय सदस्य बने । २०५९ सालदेखि पोलिटब्यूरो सदस्य र बागमती–नारायणी ब्यूरो इन्चार्जको भूमिकामा रहेका केसी २०६० मा भारतको पटनाबाट गिरफ्तार भए र २०६३ मा रिहा भए ।
२०६३ देखि ६८ सालसम्मको अवधिमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसारका साथै विभिन्न ब्यूरो इन्चार्ज रहे । त्यसपछि पार्टीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) इन्चार्ज बने ।