लेप्चा लोक संस्कृति र संगीतको धरोहर सोनाम छिरिङ लेप्चा पञ्चतत्वमा विलिन
गान्तोक, 1 अगस्त। लेप्चा जनजातिको धारोहर सङ्गीतकार, लोक गायक सोनाम छिरिङ लेप्चाको निधन विहिबार कालेबुङमा 92 वर्षको उमेरमा भयो। उनको अन्तिम संस्कार राजकिय सम्मानको साथ आज शुक्रबार कालेबुङमा सम्पन्न भयो। उनको निधनसितै दार्जीलिङ सिक्किमका लेप्चा जनजातिको निम्ति अनि क्षेत्रको लोक संस्कृति र संगीतको निम्ति अपूरणीय क्षति भएको छ।
स्वर्गीय लेप्चाले आफ्नो समुदायको लोपोन्मुख संस्कृति, भाषा, संगीतलाई पुनर्जागरण गरेको थिए। उनले लेप्चा लोक संस्कृतिलाई पुनुरूत्थान गर्नको निम्ति सयौं लोक गीतलाई जीवन प्रदान गरे, लोक नृत्यहरूलाई ब्युझाए भने नाटकहरूको सिर्जना गरेर लयको संघारमा पुगेको लेप्चा लोक परम्परालाई जीवन प्रदान गरेका थिए। उनको निधनले सिक्किम दार्जीलिङ शोकाकूल बनेको छ। उनको निधनमा देशको प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आफ्नो ट्वीटर हेड्लमा शोक व्यक्त गर्दै लोक संगीतको निम्ति ठूलो क्षति बताएका छन्। यसैगरि सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले लेप्चाको निधनमा शोक व्यक्त गर्दै लेप्चा लोक संगीतको निम्ति अपुरणीय क्षति बताएका छन्। यसैगरि सिक्किमका पूर्व मुख्यमन्त्री पवन चामलिङले उनको निधन सिक्किम दार्जीलिङको लोक संगीत संस्कृतिको निम्ति क्षति रहेको बताएका छन्। उनको निधनमा गोजमुमो अध्यक्ष विमल गुरुङ, जीटीए अध्यक्ष अनित थापाले पनि शोक व्यक्त गरेका छन्।
स्वर्गीय लेप्चाले लोक संगीत, संस्कृति र साहित्यमा पुऱ्याएको योगदानको कदर गर्दै 1995 मा संगीत नाटक एकाडेमी पुरस्कार प्रदान गरिएको थियो भने भारत सरकारले प्रदान गर्ने चौथो सर्वोच्च नागरिक सम्मान पद्मश्रीले 2007 मा सम्मानित गरिएको थियो। 1928 सालमा कालेबुङमा जन्मिएका सोनाम छिरिङ लेप्चाले लामो समयसम्म सिक्किम सरकारको संस्कृतिक धरोहर विभागमा सरकारी सेवा गरेका थिए। उनको नेतृत्वमा 1954 सालमा सिक्किम दार्जीलिङका कलाकारहरूको संयुक्त सांस्कृतिक टोलीले नयाँ दिल्लीमा गणतन्त्र दिवसको परेडमा पहिलोपल्ट सिक्किमको प्रतिनिधित्व गर्दै झाँकी प्रस्तुत गरेका थिए। उनी कालेबुको बोङ बस्तीमा बस्दै आएका थिए भने उनले लेप्चा धरोहर म्युजियम पनि स्थापित गरेका थिए। उनले सिक्किम दार्जीलिङ कालेबुङबाट विभिन्न सर सामान र लेप्चा जनजातिसित सम्बन्धित बस्तुहरू संग्रह गरेका थिए। जसमा लेप्चा लोक बाद्य यन्त्र, लोक हातहतियार, पुरानो पाण्डुललिपी र ऐतिहासिक दस्तावेजहरू म्युजियममा राखिएको छ। उनको यो म्युजियममा सयौं मानिसहरूको भ्रमण हुने गर्छ। उनी आफ्नो म्युजियममा रहेका सर सामानहरूको संङ्कलनबारे रोचक प्रकारले बताउने गर्थे। यसका साथै उनी कालेबुङका लेप्चा संगठनका प्रमुख संरक्षक पनि थिए।
उनले लेप्चा संगीतबारेमा पुस्तक पनि लेखेका छन् भने उनकी पत्नी श्रीमती हिल्डामित लेप्चा स्वयं पनि पद्मश्रीले सम्मानित तथा उच्चकोटीका लोक गायिका हुन्।
तपाइँकाे प्रतिक्रिया
