लोकबाजा संरक्षणकर्मी नेपालीलाई जापानको प्रतिष्ठित पुरस्कार
लोकबाजा संरक्षण र संवर्द्धनका क्षेत्रमा अढाई दशकयता लागिपर्दै आएका रामप्रसाद कँडेललाई जापानको प्रतिष्ठित निक्केई एसिया पुरस्कार प्रदान गरिने भएको छ। झन्डै ३० लाख रुपैयाँको यो पुरस्कारलाई कला–संस्कृति र सम्पदा क्षेत्रमा प्रदान गरिने विशिष्ट सम्मानका रूपमा लिइन्छ । काठमाडौंमा स्थापित नेपाली लोकबाजा संग्रहालयमार्फत नेपाली बाजागाजा संरक्षण एवं लोकसंगीत र संस्कृति झल्काउने गतिविधि जारी राखेकोमा पुरस्कृत गर्न लागिएको हो।
बाजागाजाका जानकार कँडेलले २०५४ सालमा औपचारिक रूपमा जिल्ला प्रशासन, काठमाडौंमा दर्ता भएपछि सुरुमा कालधारास्थित आफ्नै डेरामा बाजागाजा संग्रह गर्न थाल्नुभएको थियो। २०५८ सालदेखि भद्रकालीमा नेपाल सम्पदा संघसँगै कोठा भाडामा लिएर ५ वर्षसम्म संग्रहालय विस्तार गर्नुभएको थियो। २०६४ सालदेखि भने त्रिपुरेश्वरस्थित गुठी संस्थानको सत्तलमा बस्ने गरी मन्त्रिस्तरीय बैठकबाटै अनुमोदन पाएर संग्रहालयले आफ्नो गतिविधि अघि बढाइरहेको छ।
कँडेलका अनुसार अहिलेसम्म नेपालभर १३ सयभन्दा बढी बाजागाजा रहेको तथ्यांक छ। संग्रहालयमा ६ सय ५५ बाजागाजा राखिएका छन्। मल्लकालीन समयदेखि विभिन्न जातजाति, वर्ग, समुदाय र भूगोल विशेषका बाजागाजा संग्रहालयले जोगाइरहेको छ। बजाउन छाडिएको र उपयोगहीन पुरानो बाजालाई पनि संग्रहमा राख्ने गरिएको कान्तिपुर अनलाइनले समाचार लेखेको छ।
कँडेलका अनुसार सारंगी बनाउन खिर्रा काठ, मादल बनाउन छत्तिउन र वीणा बनाउन दार नै किन चाहियो भनेर समेत खोज्ने काम भइरहेको छ । यस्तो अडियो–भिजुअल रेकर्ड अहिलेसम्म १० हजार घण्टाजति भइसकेको छ ।
संग्रहालयबाट ‘बाजा’ नामको जर्नल पनि प्रकाशित हुँदै आएको छ । सन् २०११ यता हरेक वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय लोकसंगीत महोत्सव पनि सुचारु छ । इन्टरनेसनल काउन्सिल फर ट्रेडिसनल म्युजिकको सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा संग्रहालय सहभागी हुँदै आएको छ । संग्रहालयका लागि सरकारले वार्षिक १५ लाख रुपैयाँ सहयोग दिँदै आएको छ ।
कँडेलसँगै भारत, बेंग्लोरका थालाप्पिल प्रदीप र संयुक्त रूपमा मलेसियाका एन्थोनी ट्यान तथा ट्यान हुई लिङलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । प्रदीपले पानी शुद्धीकरण प्रक्रियाको नवीन पद्धतिमार्फत प्रतिलिटर २ पैसामा उपलब्ध गराएबापत र एन्थोनी–हुईलाई मलेसियाको ट्याक्सी सेवासहित अरू बन्द–व्यापारमा प्रयोग गर्न मिल्ने ‘एप्स’ उत्पादन गरेबापत निक्केई पुरस्कार दिने निर्णय भएको हो । कोरोना संक्रमणका कारण निक्केई अवार्ड समारोहको तिथि तय नभए पनि सन् २०२० को अन्त्यमा टोकियोमा पुरस्कार दिइने जनाइएको छ ।
तपाइँकाे प्रतिक्रिया
