Loading... आजः शनिबार , श्रावण १२, २०८१

वरिष्ठ साहित्यकार सुखनमलाई नवौं बन्द्रीनारायण प्रधान स्मृति पुरस्कार भने अझै बाँच्छु र धेरै काम गर्छु


बाग्राकोट,19 जनवरी। म अझै बाँच्छु र धेरै काम गर्छु।नवौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार ग्रहण गरेपछि 90औं वसन्त पार गरिसकेका मूर्धन्य साहित्यकार सुख नमले भने,आज हाम्रो भाषा-साहित्यमा जे जति छ त्यसमा सन्तोक गरेर बस्नु हुँदैन। आज यहाँको भानु मैदानस्थित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानको आयोजनामा 93औं बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोह सम्पन्न भयो।जहाँ नेपाली साहित्यको विकासमा सुदीर्घ सेवा पुर्याउने मूर्धन्य साहित्यकार सुख नमलाई नवौं बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरियो।विशिष्ट साहित्यकार कृष्णसिंह मोक्तानको प्रमुख आतिथ्य एवं विशिष्ट साहित्यकार गुप्त प्रधानको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा सुख नमलाई स्मृति चिन्ह पुरस्कार स्वरुप नगद राशि पन्ध्र हजार रुपियाँ अर्पण गरियो।

समारोहमा प्रेमदोर्जी शेर्पा मूर्धन्य साहित्यकार नरबहादुर दाहाल, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान अध्यक्ष सुखमन मोक्तान राजनैतिक सचेतक डा. हर्कबहादुर छेत्री, भाषासेवी मीमलाल सापकोटा, अधिवक्ता अनमोल प्रसाद, विशिष्ट साहित्यकार भविलाल लामिछाने, कवयित्री कमला राई, कवि तथा समालोचक रेमिका थापा, अधिवक्ता अमर लामा, साहित्यकार श्रीनारायण प्रधान, क्षेत्रीय जिल्ला परिषद् सदस्या सलिना छेत्री अतिथिका रुपमा मञ्चासीन उक्त समारोहको अभिनन्दन कार्यक्रमलाई समाजसेवी रबिन खवास अनि अलङ्करण कार्यक्रमलाई प्रतिष्ठानका पूर्वाध्यक्ष निर्मल शर्माले सञ्चालन गरे। डुवर्स दार्जीलिङ, कसलेबुङ, खरसाङ, मिरिक, सिलगढ़ी आदि इलाका साहित्यस्रष्टाहरू,विभिन्न साहित्यिक-सामाजिक सङ्गठनका प्रतिनिधिहरू, बद्रीनारायण प्रधानका प्रशंसक र अनुयायीहरू अनि परिवारका सदस्यहरूको उपस्थितिमा भएको उक्त कार्यक्रमको आरम्भमा बद्रीनारायण प्रधानको प्रतिकृतिमा दीपप्रज्ज्वलन गरी श्रद्धाञ्जलीका साथ उनको स्मरण गरियो।बाग्राकोट चियाकमान प्राथमिक पाठशालाका नानीहरूद्वारा स्वागत गीत प्रस्तुत गरिएको उक्त कार्यक्रममा सुखमन मोक्तानले स्वागत मन्तव्य गरे।

बद्रीनारायण प्रधानले जीवनका विभिन्न मोड़मा गरेका सङ्घर्षका गाथा उल्लेख गर्दै प्रधानले साहित्य र समाजको विकासमा पुर्याएको योगदानमाथि स्वागत मन्तव्यको क्रममा मोक्तानले प्रकाश पारे। कार्यक्रममा बद्रीनारायण प्रधानको व्यक्तित्व एवं कृतित्वमाथि युवाकवि तथा समालोचक राजीव विश्वकर्माले संक्षेपमा प्रकाश पारे।त्यसक्रममा विश्वकर्माले प्रतिाष्ठानले शुरु गरेको पुरस्कार परम्परामाथि समेत प्रकाश पार्दै बद्रीनारायण प्रधानलाई आफ्ना समयका स्रष्टा र द्रष्टा दुवै रहेको बताए। कवयित्रीद्वय वसन्ती शर्मा अनि भीमा राई ‘तोलाछा’ले कविता वाचन गरेका कार्यक्रममा अलङ्कृत व्यक्तित्व सुख नमको परिचय प्रा. रेमिका थापाले राखिन्।अनुवाद,इतिहासकार र कथाकारको रुपमा चिनाउँदै प्रा. थापालेसुख नमको साहित्यिक योगदानबवारे केही चर्चा गरिन्। त्यसको लगत्तै अलङ्करण कार्यक्रम भयो।जहाँ साहित्यकार सुख नमलाई प्रमुख अतिथि कृष्णसिंह मोक्तानले दोसल्ला ओढ़ाई स्मृति चिन्ह र प्रतिष्ठान अध्यक्ष सुखमन मोक्तानले पुरस्कार स्वरुप नगद राशि अर्पण गरे।सात दशकदेखि आजपर्यन्त नेपाली साहित्यको श्रीवृद्धिमा लागिपर्दैआएका सुख नमलाई उनका शुभचिन्तकहरूले माल्यार्पण गरी बधाई प्रकट गर्दै आशीर्वाद लिए।पुरस्कार ग्रहणअवधि सुख नम आज निक्कै उत्साही देखिन्थे।

बद्रीनारायण प्रधानजस्ता व्यक्तिको नाममा रहेको यो सम्मान यो उमेर मलाई दिइनु मेरो निम्ति नसोंचेको कुरा हो।सुख नमले पुरस्कार ग्रहणपछि समारोहमा.भने, लेखक- साहित्यकार हुन्छु र यसरी सम्मानित हुन्छ भनेर कहिल्यै सोंचेको थिइनँ। सत्तरी वर्षभन्दा लामो लेखनीको अनुभव साझा गर्ने आशयको साथ उनले भने, राम्रो काम शुरु गरेपछि छाड़्नु हुँदैन।तीनपल्ट मात्रै भाषा-साहित्यको सन्दर्भमा बद्रीनारायण प्रधानसित भेट भएको स्मरण गर्दै आफूलाई सम्मानले सहकर्मी र शुभचिन्तकहरूसित सम्पर्क र संवाद गर्ने अवसर समेत पाएको बताए। साथै उनले सम्मानको निम्ति प्रतिष्ठानसितै डुवर्सप्रति आभार प्रकट गरे।कार्यक्रमलाई डा. हर्कबहादुर छेत्रीले पनि सम्बोधन गरे। बद्रीनारायण प्रधानले जुन विचारधारामाथि विश्वास गर्थे त्यही विचार नै उनको जीवनशैलीमा पनि थियो, डा.छेत्रीले भने।एउटै व्यक्ति साहित्यकार,नेता र शिक्षक भएर समाजको लागि काम गर्ने बद्रीनारायण प्रधान अद्वितीय व्यक्ति हुन्, प्रमुख अतिथि कृष्णसिंह मोक्तानले कार्यक्रममा भने।आफ्ना निम्ति अत्यन्त विचित्र व्यक्ति रहेको बताउँदै बद्रीनारायण प्रधानका विचारले नयाँ पुस्तालाई प्रेरित गर्नपर्ने बताए।मोक्तानले बद्रीनारायण प्रधानजस्ता ऐतिहासिक व्यक्तित्वहरूलाई सम्झनु अनिवार्य रहेको बताए।कार्यक्रममा कुनै पनि साहित्यकारले समूह वा समाजबाट महत्त्व र मानसम्मान पाउनु महत्त्वपूर्ण रहने गुप्त प्रधानले बताए।बद्रीनारायण प्रधान साहित्यिकहरूबाट भन्दा पनि धेर समाजबाट महत्त्व पाएका व्यक्ति हुन्, अध्यक्षीय सम्बोधन अवधि गुप्त प्रधानले भने ।विगतका कार्यक्रमहरूमाझैं सबैको सहयोग र सहकार्य रहेकोले यसचोटिको कार्यक्रम उतिकै सफल रहेको बताउँदै प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले सबैप्रति आभार प्रकट गरेका छन्।

Please follow and like us:

Insert your Ads code here


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!