Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

वालुवाटारमा सचिवालय बैठक जारी


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । मंगलबार नै बस्ने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबारका लागि सारिएको थियो।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक केही समय अघि सुरु भएको हो। ‘सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक बालुवाटारमा शुरू भएको छ’, प्रेस सल्लाहकार थापाले भने।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ।

Insert your Ads code here

ओलीको विकल्प खोज्‍न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली पक्ष स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका छन्।

यही क्रममा ओलीले तत्कालीन एमाले र माओवादी दुवै पक्षका सांसदसँगको भेट तथा छलफललाई तीव्रता दिएका हुन्। आवश्यक परे बहुमतको दस्तावेज देखाउने गरी बहुमत सांसदको हस्ताक्षर समेत गराइएको छ। प्रतिनिधिसभामा नेकपामा १७४ सांसद छन्। अग्निप्रसाद सापकोटा सभामुखको जिम्मेवारीमा भएकाले बहुमतको हिसाब किताबमा अहिले २७३ सांसदको मात्र गणना हुन्छ । संसदीय दलमा बहुमत जुटाउन ओलीलाई ८८ सांसद चाहिन्छ।

ओलीले सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत रहेको स्पष्ट सन्देश दिने तयारी गरेका छन्। स्रोतका अनुसार सचिवालय बैठकमा ओलीले संकटका बेला सत्ताको खेलमा लाग्दा बाहिर नराम्रो सन्देश गएको उल्लेख गर्दै सहयोगका लागि आग्रह गर्नेछन्। अध्यक्ष र प्रधानमन्‍त्री कुनै पनि पद छोड्न ओली तयार नरहेको स्रोतको दाबी छ।

ओलीले मिलेर अघि बढ्ने प्रस्तावसहित प्रचण्ड र माधव नेपाल दुवै समूहलाई फकाउने प्रयास गरेका थिए। त्यसका लागि उनले नेपाल र प्रचण्डसँग भेटेर पटकपटक छलफल पनि गरेका थिए। तर त्यो पहल सफल नभएपछि सांसदको हस्ताक्षर जुटाएर बहुमत देखाउने तयारीमा ओली छन्। बालुवाटार निकट स्रोतले भन्यो, ‘बाहिर हल्ला गरियोजस्तो अल्पमतको अवस्था होइन। पार्टी र संसद दुवैतिर स्पस्ट बहुमत छ। त्यो आवश्यक परे दस्तावेजसहित पेस हुनसक्छ।’ अन्नपूर्ण पाेष्ट अनलाइनले लेखेको छ।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!