Loading... आजः शनिबार , श्रावण १२, २०८१

विदेशी नागरिकका लागि पदयात्रा बन्द


कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ। नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । यो सँगै अब विदेशीले पदयात्रा जान नपाउने भएका छन्। बोर्डले आजैबाट लागू हुने गरी टिम्स वितरण अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपालको पदयात्रामा जाने विदेशीले टिम्स अनिवार्य लिनुपर्छ। टिम्सबापत विदेशीले व्यक्तिगतरुपमा रु दुई हजार र संस्थागत गएमा रु एक हजार तिर्नुपर्छ। पर्यटनको महत्वपूर्ण आम्दानीका रुपमा टिम्स रकमलाई लिइन्छ । वसन्त ऋतु पदयात्राका लागि उपयुक्त याम भएकाले धेरै आरोही पदयात्राका लागि नेपाल आउने गरेका थिए । कोभिडको विश्वव्यापी सङ्क्रमण फैलिएपछि सम्बन्धित मुलुकले अन्य मुलुकका नागरिक प्रवेशमा रोक लगाएपछि अन्तर्राष्ट्रिय उडान पनि कटौती भएको र विदेशीको आवतजावत पनि कम भएको हो।

बोर्ड र ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले टिम्स कार्ड वितरण गर्दै आएका छन् । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोनाको सङ्क्रमण कम नभएसम्म टिम्स कार्ड वितरण बन्द गर्ने सरोकारवाला निकायबीच सहमति भएको जानकारी दिनुभयो। बोर्ड, टान र टान पोखरा कार्यालयले टिम्स वितरण गर्दै आएका छन् । यो याममा टानले दैनिक २००, बोर्डले १५० र पोखरा कार्यालयले ५० भन्दा बढी टिम्स वितरण गर्ने गरेको टानले जनाएको छ।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!