Loading... आजः बिहिबार , चैत्र १३, २०८१

विद्यार्थीको नतिजा आन्तरिक मूल्याकंनबाट सार्वजनिक गरिदै 


कैलालीकैलालीका विद्यालयहरु वार्षिक परीक्षा सञ्चालनमा समस्या भएपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गर्न थालेका छन् ।

गएको महिना वैशाख १५ गतेबाट वार्षिक परीक्षा गर्ने तयारीमा रहेका कैलालीका विद्यालयमा कोरोना भाइरस संक्रमण समुदायमा फैलिएपछि परीक्षा स्थगित भएका थिए । लामो समयको बन्द र विद्यालय खोल्ने वातावरण नभएपछि कैलालीका स्थानीय तहले आन्तरिक मूल्याकंनबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् ।
पालिकाको निर्णयपछि कैलालीका पालिकाले अब कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा आन्तरिक मूल्यांकनबाट सार्वजनिक गर्न थालेका छन् । टीकापुर नगरपालिकामा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालयमा लिइएका विभिन्न आन्तरिक परीक्षा, हाजिरी, गृहकार्य, अनुशासन र अतिरिक्त क्रियाकलापका आधारमा मूल्याङ्कन गर्न सकिने निर्णय गरेको छ ।
कोभिड १९ का कारण परीक्षा सञ्चालन गर्न नसकेपछि बुधबार बसेको नगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारको निर्णयानुसार आगामी असारदेखि नयाँ शैक्षिक शत्र शुरु गर्नुपर्ने भएकाले नगर शिक्षा समितिको बैठक बसी यस्तो निर्णय गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिनुभयो । ‘‘विद्यालय सञ्चालकहरुसँग छलफल गर्दा पनि यही विकल्प भन्नुभएको छ, यस्तो बेला परीक्षा गर्न सम्भव पनि छैन’’, ठकुल्लाले भन्नुभयो, ‘‘नयाँ शैक्षिक शत्र शुरु हुने समयमा हामीले यही विकल्प दिएका छौँ ।’’
टीकापुर क्षेत्रका केही निजी विद्यालयले भने कोरोना कहरमा पनि अनलाइक कक्षा सुचारु राखेका थिए । उनीहरुले अनलाइनबाट परीक्षा समेत लगिसकेको अवस्था छ । सबै विद्यालय र विद्यार्थी अनलाइनको पहुँचमा नभएका, अझ सामुदायिक विद्यालयमा अनलाइन कक्षा सम्भव नभएकाले पालिकाले विद्यालयको सहजताका लागि यस्तो निर्णय गरिदिएको शिक्षा अधिकृत नरेश अवस्थी बताउनुहुन्छ । ‘‘यहाँका विद्यार्थी अनलाइनको पहुँचमा छैनन्, त्यसैले अबको विकल्प यही हुन्छ’’, अवस्थीले भन्नुभयो, ‘‘दोस्रो त्रैमासिक परीक्षा र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने तयारी भएको हो ।’’
यस्तै, कैलालीको जानकी गाउँपालिकाले पनि नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएको छ । जानकी गाउँपालिका गाउँ शिक्षा समितिद्वारा कक्षा १ देखि ९ सम्मका कक्षाको नतिजा २० प्रतिशत आन्तरिक मूल्याङ्कन (उपस्थिति, गृहकार्य, अनुशासन र विविध) र ८०% अघिल्लो परीक्षाका आधारमा गर्ने गराउने औपचारिक निर्णय भएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिनुभयो । ‘‘महामारी फैलिएपछि परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई थप तयारी गर्नुस् भनेर विदा दियौँ’’, कपाडी भन्नुहुन्छ, ‘‘महामारी नियन्त्रणमा आएको देखिएन, समुदायमा भयाभह स्थिति छ । यस्तो बेलामा परीक्षा पनि सम्भव छैन, नतिजा रोकेर काम छैन ।’’
कैलालीको लम्कीचुहाले यसअघि नै निर्णय गरी विद्यालयहरु नतिजा सार्वजनिक कार्यमा जुटिसकेका छन् । लम्कीचुहामा विद्यालयहरु अघिल्लो परीक्षा र अन्य आन्तरिक आधारमा विद्यालयहरुले नतिजा सार्वजनिक थालेका हुन् । लम्कीचुहा मात्र होइन कैलालीका सबैजसो पालिकाले यसरी नै नतिजा सार्वजनिक थालेका छन् ।
‘‘विद्यार्थीहरु परीक्षाको तयारीमा थिए, भोलिबाट हुने भनिएको परीक्षा अघिल्लो दिन विद्यालय बन्द गर्नुपरेको थियो’’, शिक्षिका टंकमाया पोखरेल भन्नुहुन्छ, ‘‘नानीबाबुले पढेका छन्, परीक्षा मात्र दिन पाएनन्, यसले उनीहरुको शैक्षिक विकास र सिकाइमा असर पर्दैन । नतिजा सार्वजनिक भए बरु तनाब व्यवस्थापन हुन्छ ।’’
शिक्षिका पोखरेल अब विद्यार्थी नयाँ शैक्षिक शत्रको तयारी र माथिल्लो कक्षाका पाढ्यपुस्तक अध्ययनमा लाग्ने वातावरण अभिभावकले बनाउन आवश्यक रहेको बताउनुहुन्छ । ‘‘लकडाउन खुकुलो भए नानीबाबुका किताब उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ, ‘‘फुर्सदमा रहेका बालबालिकालाई घरमा समेत पढ्ने वातावरण अभिभावकले बनाउन जरुरी छ ।’’
अभिभावकहरु कोरोना महामारीका कारण बालबालिकाको पढाई र बाल मस्तिष्कमा नकारात्मक असर परेको बताउँछन् । ‘‘भोलिबाट परीक्षा दिने भनेर तयारीमा रहेका बालबालिका अघिल्लो दिन विद्यालय बन्द भएपछि तनाबमा छन् । गत वर्ष पनि राम्ररी कोर्ष पूरा गर्न पाएनन्’’, अभिभावक बन्दना जैसी भन्नुहुन्छ, ‘‘अब सरकारले, विद्यालय सञ्चालकले विकल्प खोजेर बालबालिकाले नियमित अध्ययन गर्ने, रमाउने वातावरण तयार गर्न आवश्यक छ ।’’

Insert your Ads code here

 

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!