विराटनगरमा कोरोना भाइरस उपचारका लागि अस्पताल सञ्चालनमा आएको छ। प्रदेश सरकारले विराटनगर–१० मा रहेको नेसनल ट्रेडिङको भवनमा कोसी अस्पतालअन्तर्गत कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा ल्याएको हो।
आईसीयू र भेन्टिलेटरका दससहित ५० शय्याको अस्पताल शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अवलोकन गर्नुभयो। निर्माणसहित आवश्यक पर्ने स्वास्थ्य उपकरण र सामग्री तथा मापदण्डको विषयमा विशेषज्ञ चिकित्सकसँगको परामर्शपछि अस्पतालबाट सेवा सुचारु भएको हो। पूर्ण अस्पतालको संरचनासहित आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापन गरिएसँगै अब कोडिभ–१९ का बिरामीको उपचारका लागि समस्या नहुने मुख्यमन्त्री राईले स्पष्ट पार्नुभयो।
प्रदेश सरकारले निर्माण गरेको अस्पतालको हरेक वार्डमा सीसी क्यामेरा जडान गरिएको छ। वार्डलाई कन्ट्रोल रुमबाट निगरानी गरिने सुविधासँगै बिरामीको मोबाइलमा स्वास्थ्य सूचना पठाउन सकिने सुविधाको प्रबन्धसमेत गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो।
Insert your Ads code here
यसैबीच धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ। पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ।
सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा राजेन्द्र कोजूले बताउनुभयो । वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत रु २० लाख उपलब्ध गराएको गोरखापत्र अनलाइनले जनाएको छ।