Loading... आजः शनिबार , श्रावण १२, २०८१

विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा


विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका नदीमा देखिन थालेका छन्। नदीमा पानीको सतह बढेपछि यहाँ डल्फिन देखिन थालेका हुन्। पानी कम भएको बेला गहिरइ खोज्दै कर्णालीतिर जाने डल्फिन पानीको सतह बढेपछि मोहना, पथरैया, काँढालगायत नदीमा आइपुग्ने गर्दछन्। चुरे क्षेत्रमा वर्षा भई नदीमा पानीको सतह बढेपछि शनिबारदेखि दुई वटा डल्फिन देखिन थालेको संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो। उहाँका अनुसार यस वर्ष पहिलो पटक एउटा वयस्क र उसको बच्चा देखा परेका छन् ।

माउ र बच्चा डल्फिन मोहना र पथरैया नदीको दोभानमा देखिएको ढुङ्गानाले बताउनुभयो । विगतमा असार पहिलो सातातिरबाट डल्फिन कर्णालीको सहायक नदीहरूमा देखिने गरेका थिए । गोरखापत्र अनलाइनका अनुसार डल्फिन देखिएको र मनसुनभरि अवलोकन गर्न पाइने यो स्थान टीकापुर नगरपालिका–७ बैदीमा पर्दछ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले रातो सूचीमा राखेको गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको सहायक नदीमा मनसुनभरि देखिने गर्दछन्। मनसुन सकिएसँगै डल्फिनहरू पुनः मुख्य नदी कर्णाली हुँदै भारतको घाँघरासम्म पुग्ने गरेको बताइन्छ। यद्यपि, यस वर्ष माघमा पनि मोहना नदीमा डल्फिन देखिएको थियो । कर्णाली नदीमा भने वर्षभरि नै डल्फिनको बसोबास रहने गरेको विभिन्न अध्ययनबाट पुष्टि भएको छ । मनसुनमा मोहना–पथरैया नदीको दोभान, पथरैया–काँढा नदीको दोभान र पथरैया–गैरी खोलाको दोभानमा निकै नजिकबाट डल्फिन अवलोकन गर्न पाइने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठ बताउनुहुन्छ।

Insert your Ads code here

‘तर, नदीमा पानीको गहिराइ कायम रहिरहेमा यहाँ वर्षभरि नै डल्फिन बस्न सक्छन्’, उहाँले भन्नुभयो । पर्यापर्यटनको राम्रो सम्भावना बोकेको डल्फिनको कैलालीमा २०५७ सालबाट संरक्षण हुँदै आएको छ । पहिलेका नामूद सिकारी ७५ वर्षीय भोजराज श्रेष्ठको नेतृत्वमा समुदायस्तरबाट डल्फिन संरक्षणको कार्य हुँदैआएको हो । वन्यजन्तुको सिकार गर्न छोड्नुभएका श्रेष्ठले डल्फिन संरक्षणमा आफ्नो जीवन समर्पण गर्नुभएको छ । संरक्षणको कार्य थालेपछि हरेक सिजनमा विभिन्न देशका पर्यटक डल्फिन अवलोकन गर्न यहाँ आउने गरेका छन्।

स्वच्छ पानीमा बस्न रुचाउने गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा बच्चा हुर्काउनका लागि आउने गरेको बताइन्छ । तर, नदीमा प्रदुषण बढ्दै जानु, डल्फिनको आहारा प्रजातिको रुपमा रहेका माछाको जथाभावी सिकार हुनुले संरक्षणमा चुनौती रहेको संरक्षणकर्मीहरू बताउँछन् । नदीमा माहाजाल हालेरसमेत माछा मार्ने गरिएको छ ।

विगत केही वर्षयता माहाजाल हालेर माछा मार्नमा बन्देज लगाइएको संरक्षणकर्मी ढुङ्गानाले बताउनुभयो । यसैगरी, नदीहरूमा प्लाष्टिकजन्य वस्तु र मरेका जनावरको सिनो फाल्ने कार्यमा पनि रोक लगाइएको उहाँले उल्लेख गर्नुभयो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!