Loading... आजः शुक्रबार , श्रावण ११, २०८१

विश्व कीर्तिमानी सगरमाथा आरोही ‘हिमचितुवा’को निधन


विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ। सोमबार बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उहाँका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनु भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

सोलुखुम्बुको थामेमा जन्मिनु भएका ७२ वर्षीय ‘हिमचितुवा’ उपनामले परिचित शेर्पाको पार्थिव शरीर शेर्पा गुम्बामा लगिएको छ। उहाँलाई बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ। उहाँले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नु भएको थियो। सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेक्नु भएका शेर्पाको त्यो अन्तिम आरोहण थियो।

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उहाँले पटकपटक आरोहण गर्नु भएको थियो। आङरिताका तीन छोरा र एक छोरी छन्। जेठ छोरा कर्साङ आरोहण पेसामै हुनुहुन्छ। माहिला छोरा छेवाङ दोर्जे भने अमेरिका र कान्छा छोरा फुरानुरू खुम्बुमै चौँरी धपाउने काम गर्नुहुन्छ। उहाँ छोरी डोमासित काठमाडौंको जोरपाटीमा बस्दै आउनु भएको थियो। उहाँकी पत्नीको सात वर्षअघि निधन भएको थियो।

Insert your Ads code here
Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!