नेपालको यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ। विश्व बैङ्कले नेपाललाई उपलब्ध गराएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण सम्झौता रहेको गोरखापत्र अनलाइनले लेखेको छ। सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालसमेत हेर्ने देशीय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो।
उक्त ऋण सम्झौताले सीमापार बजार लगायत सडक सञ्जाल विस्तार र कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानलाई सहयोग पुग्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो। नेपालको अर्थतन्त्र सुधारका लागि तथा राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्य प्राप्त गर्न यातायात तथा दिगो र उच्च गुणस्तरीय पूर्वाधारको महìव रहेको उहाँले बताउनुभयो।
अर्थ सचिव ढुङ्गानाले यस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामान ढुवानी गर्ने समय र लागत घटाउन सहयोग पुग्ने बताउनुभयो। यस आयोजनाले क्षेत्रीय व्यापार तथा सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने देशीय निर्देशक जर्भोसले बताउनुभयो।
रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाबाट भारतलगायत छिमेकी मुलुकसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो आयोजनाअन्तर्गत नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्ड सुधार गर्नुका साथै कमल–ढल्केबर–पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाइने छ।