Loading... आजः शनिबार , श्रावण १२, २०८१

वुहानका रहेका नेपालीहरु चिन्तामुक्त


चीनको हुबेई प्रान्तका विभिन्न स्थानबाट नेपाल फर्कन नपाएका र फर्कन नचाहेका नेपालीले आफूहरू कोभिड–१९ बाट सुरक्षित रहेको जानकारी दिएका छन्। हुबेईमा रहेका नेपालीमध्ये १ सय ७५ जनालाई सरकारले गत फागुन ३ मा नेपाल लगेको थियो। फर्कन चाहेकामध्ये चार जनामा ज्वरो देखिएपछि वुहानको थ्येनह विमानस्थलमा रोकिएका थिए। दुई जना उनीहरूका परिवारका सदस्य थिए। तर त्यतिबेला घर फर्कन नपाउँदा खिन्न भएका उनीहरूले चीन सरकारले आवश्यक सेवा–सुरक्षासहित हेरचाह गरेकाले कुनै भय नरहेको बताएको कान्तिपुर अनलाइनले लेखेको छ।

‘मेरा कारणले बच्चा र श्रीमती फर्किन नपाउने वा अस्पतालको निगरानीमा बस्नुपर्ने चिन्ताबाहेक बढ्दो तापक्रमकै कारण म भने चिन्तित थिइनँ,’ वुहान विश्वविद्यालयमा विद्यावारिधि गरिरहनु भएका बिगेशमान शाक्यले भन्नुभयो। उहाँ हाल परिवारसहित विश्वविद्यालयको छात्रावास बाहिर बसिरहनु भएको छ। आफूहरूलाई स्थानीय सरकारले आवश्यक उपभोग्य सामान उपलब्ध गराउने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘केही महँगो पर्ला वा केही दिन ढिलो हुन सक्ला तर चाहिएका सामान आपूर्तिमा खासै समस्या आएको छैन।’ कतिपय सामान अनलाइनमार्फत अर्डर गर्ने गरेको उहाँले बताउनुभयो।

वुहानस्थित सेन्ट्रल चाइना नर्मल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेका झमकुमार विश्वकर्माले ‘आफूले चाहेरै नेपाल नफर्किएको’ बताउनुभयो। त्यहाँ अध्ययनरत ६ जना नेपालीमध्ये तीन जना कोभिड–१९ को त्रास फैलिनुअघि नै घर फर्किएका थिए भने दुई जनालाई सरकारले ल्याएको हो। उहाँले आफू चीनमै सुरक्षित ठानेर घर फर्कन नचाहेको बताउनुभयो। ‘महामारीका बेला सुरक्षा महत्त्वपूर्ण कुरा थियो,’ उहाँले भन्नुभयो, ‘चीन सरकारले पनि राम्रो सुरक्षा तथा रेखदेख गरिरहेका बेला हतासिएर फर्किनुपर्ला जस्तो लागेन।’

Insert your Ads code here

हुबेईमा रहेका नेपालीहरूको अपेक्षा गर्मीयामको सुरुवातसँगै स्थिति सुधार होला भन्ने छ। पछिल्ला दिनमा चीनमा संक्रमितको आँकडा घट्दै गइरहेकाले पनि स्थानीय आशावादी छन्। विश्वकर्माले बाहिर प्रचार गरिएजस्तो कुनै असुरक्षा वा खानपानको अभाव भोग्न नपरेको बताउनुभयो। उहाँका अनुसार हुबेईमा बस्दै आएका झन्डै दुई दर्जन नेपाली अहिलेसम्म सुरक्षित छन्।

छिङ्चौ याङ्त्से विश्वविद्यालयमा डर्माटोलोजी (छालासम्बन्धी रोग) अध्ययन गरेका काठमाडौंका कुनाल साह ग्र्याजुएसन सकेलगत्तै घर फर्किने तर्खरमा हुनुहुन्थ्यो। तर त्यस दिनको धपेडीले ज्वरो आएपछि उहाँ फर्कन पाउनु भएन। सुरुमा उहाँले पनि नरमाइलो मान्नु भएको थियो। ‘तर क्वारेन्टाइनमा बसेर संक्रमणमुक्त भइसकेको अवस्थामा थप चिन्ता लिनुपरेन,’ उहाँले सुनाउनुभयो। उहाँको अबको चिन्ता भनेको पढाइ सकिएपछि पनि यत्तिका समय चीनमै रहनुपर्दाको खर्च धान्नेबारे मात्रै केन्द्रित छ।

भाइरसको संक्रमण फैलिएसँगै हुबेई प्रान्त ‘लक डाउन’ गरिएपछि अन्य देशका घर फर्के पनि पाकिस्तानी विद्यार्थी फर्कन चाहेनन्। वुहानमा भारतीयले चलाएको इन्डियन मार्का होटलमा काम गर्ने ११ नेपालीमध्ये एक जनामात्रै चार्टर्ड फ्लाइटमै फर्किएका थिए। त्यहाँ कार्यरत सेफ पुष्कर खड्काको शव अझै पनि अस्पतालमै छ भने अन्य नौ जना नेपाली कामदारको स्थिति सहज भएर काममा फर्कने प्रतीक्षामा छन्। खड्काको भने कोभिड–१९ बाट नभई अन्य कारणले मृत्यु भएको हो।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!