नेपाल सरकारले कोरोना महामारीका कारण दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानी गर्ने मिति परिवर्तन गर्न ती देश र निकायसँगको छलफललाई तीव्रता दिएको छ। देशभित्रको कर्जा र ब्याज तिर्ने भाका सार्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको सरकारले सोसम्बन्धी कार्यविधि समेत बनाइसकेको छ तर आफैँले विदेशबाट लिएको ऋण तथा सहयोगको भने भाका सार्ने विषयमा अहिलेसम्म निर्णय गराउन नसकेको नेपाल खबर अनलाइनले लेखेको छ।
अर्थ मन्त्रालयका अनुसार उक्त विषयमा सहयोगी देश र निकायहरुसँग छलफल भने भइरहेको छ। म्याद अवधि सार्न अर्थमन्त्री डा. युवराज खतिवडा आफैँले वैदेशिक ऋणको सावाँ–ब्याज भुक्तानीको समय केही वर्ष पर सार्न आग्रह गरिरहनु भएको छ।
उहाँले विश्व बैंक, आईएमएफ, अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार लगानी बैंकजस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीसँग कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको असर र नेपालले गरेको प्रयासका वेबिनार छलफल समेत गरिरहनु भएको छ। उनीहरुले प्रतिबद्धता समेत व्यक्त गरिरहेको अर्थको भनाइ छ।
Insert your Ads code here
तर सरकारी पहलका बाबजुद द्विपक्षीय सहयोगी राष्ट्रहरुले भने यसमा सकारात्मक प्रतिक्रिया दिएका छैनन्। चीन, भारत, अमेरिकाजस्ता देशसँग अर्थ मन्त्रालयले छलफल गरिसके पनि उनीहरुले सकारात्मक प्रतिक्रिया नदिएका हुन्। भारत र अमेरिकाले यसबारे कुनै निर्णय नै गरेका छैनन्। तर चीनले भने अहिलेलाई भाका सार्न र ब्याज मिनाहा दुवै गर्न नसकिने जवाफ दिएको छ। अर्थ मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार चीनले यसबारे लिखित जवाफ नै बुझाएको छ।