Loading... आजः शनिबार , श्रावण १२, २०८१

शैक्षिक संस्थानमा जस्तै कारखानामा कार्यरत सिक्किमे मजदुरहरूको हितलाई ध्यानमा राखेर राज्य सरकारले वेतनसहीत छुट्टि दिनुपर्छः एसडीएफ


गान्तोक, 18 मार्च । सिक्किमका विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रण्टको भातृ संगठन सिक्किम प्रजातान्त्रिक मजदूर मोर्चाका प्रभारी तथा प्रवक्ता जेबी दर्नालले राज्य सरकारले कोभिड 19 बारे लिएको पहललाई पार्टीको तर्फबाट स्वागत गरेका छन्‌। उनले पत्रकारहरूसित कुराकानी गर्दै सरकारको पहल सराहनीय भए पनि शैक्षिक संस्थानहरू जस्तै राज्यमा 51 वटा विभिन्न कारखानाहरूमा लगभग 30 हजार जति मदजूरहरू दैनिक रूपमा भेला हुने भएकोले उनीहरूको सुरक्षाबारे कुनै नगरेकोमा आपत्ति जनाएका छन्‌। उनले ती कारखानाहरूमा दैनिकरूपमा राज्य बाहिरबाट मालवाहक वाहनहरू आउजाउ गर्ने भएकोले रम्फू र मल्ली चेकपोस्टमा मानिसको मात्र जॉंच भइरहेको, तर वाहनहरूलाई सेनिटाइज गर्ने कुनै प्रविधि नभएकोले उक्त कारखानाहरूमा कोरोनाको प्रकोप फैलिन सक्ने प्रबल सम्भावना रहेको बताए। यस्तो अवस्थामा राज्य सरकारले गाल टार्ने पाराले नुहाउँदा पिसाब गरेको थाहा नपाओस भने झैं विद्यार्थीहरूले अधिकारको लागि आन्दोलन गरिरहेको बेला शैक्षिक संस्थानहरू बन्द घोषणा गरेर आन्दोलन दबाउन बन्द गर्ने, तर मजदूरहरूको उपस्थिति रहने कारखानाहरूबारे कुनै ठोस निर्णय नलिनु गलत रहेको बताए। ती मजदूरहरूको सुरक्षा र मजदूरीलाई सुनिश्चित गरेर कारखानाहरूलाई पनि छुट्‌टी गरिनुपर्ने आशय व्यक्त गरे। यसरी नै रम्फू र मल्ली चेकपोस्टमा राज्य सरकारको चिकित्सा र अन्य पुलिस प्रशासनका कर्मचारीहरूले खुबै समर्पित ढङ्‌गमा काम गरिरहेको कुरालाई एसडीएफ पार्टी अध्यक्षको तर्फबाट पार्टीले जनताको निम्ति आभार प्रकट गरेको छ भन्दै उनले ती कर्मचारीहरूको पूर्ण सुरक्षाको जिम्मेवारी राज्य सरकारले लिनुपर्ने र उनीहरूलाई अत्याधुनिक उपकरण उपलब्ध गराउनुपर्ने माग राखेका छन्‌। दुवै नाकामा केवल सर्जिकल मास्क मात्र लगाएर जॉंच गरिरहेको, तर उनीहरूलाई आवश्यक सुरक्षाको उपकरणहरू उपलब्ध गराउन सरकार चुकीरहेको आरोप लगाए। यस्तो महामारी र वैश्विक आतङ्‌कको रूपमा फैलिएको कोरोनाको आपतकालीन स्थितिमा राज्यको स्वास्थ्य मन्त्री भने निखोज हुनुले ठूलो शंका उत्पन्न गरेको भन्दै राज्यका मुख्यमन्त्रीले स्वास्थ्य मन्त्री कहॉं छन्‌, स्पष्टीकरण दिनुपर्ने माग गरे। राज्य सरकारको जिम्मेवार पदमा रहेको मन्त्रीले कोरोनाबारे न त कुनै जिम्मेवारीपूर्ण आधिकारिक बयान जारी गरेका छन्‌, न त कुनै स्पष्टीकरण दिएका छन्‌ भन्दै यसले जनतालाई शंकामा पारेको छ, मुख्यमन्त्रीले यसको उचित स्पष्टीकरण दिनुपर्ने एसडीएफ पार्टीको माग रहेको बताए। अर्कोतिर, पश्चिम सिक्किमको गेजिङ महाविद्यालय र सिक्किम राज्य विश्वविद्यालयका विद्यार्थीहरूको आन्दोलनलाई सरकारले सम्बोधन नगर्नु ठूलो गैर जिम्मेवारपूर्ण कार्य रहेको बताउँदै विद्यार्थीहरूको उचित मागलाई राज्य सरकारले सम्बोधन गर्नुपर्ने माग राखेका छन्‌।

Please follow and like us:


तपाइँकाे प्रतिक्रिया


error: Content is protected !!